४ असोज, काठमाडौँ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ बिहीवारबाट शुरु हुने छ । जमरा राख्ने दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।

घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको पञ्चाङ्ग निर्णायक समितिले बताएको छ । वडादशैँको पहिलो दिन विहीवार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । विहीवारैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

विहीवार बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ । नौ ओटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।  दशैंको टीकाको लागि भने असोज १४ गते ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले बताएको छ ।

यस वर्ष १५ दिनको दशैँ भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ । अघिपछि १४ दिनको दशैं हुने भएपनि यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia