६ असोज, अमर काफ्ले इनरुवा । देवानगंजमा एक ऋषिदेव परिवारकी महिला रुनादेवीले तिमल्याहा बच्चा जन्माएपनि उपचार अभावका कारण एक बच्चाको मृत्यु भएको छ । देवानगंज गाउँपालिका वडा नम्वर २ बस्नै सुरेश ऋषिदेवकी पत्नी रुनादेवीले दुई दिन अघि तीन बच्चा जन्माउनु भएको थियो ।
जन्मेका तीनवटै सन्तान छोरी रहेका थिए । उपचार अभावमा एक शिशुको भने आज विहान मृत्यु भएको हो । बाँकी दुई शिशुलाई बचाउन समेम ऋषिदेव परिवारलाई हम्मेहम्मे परेको छ । खर्च अभावमा उनिहरुको स्वास्थ्योपचारको प्रवन्ध जुट्न सकेको छैन् । एकसाथ तीन नवजात शिशु घरमै जन्माउनु भएकी रुनादेविलाई परिवारले सुत्केरी व्यथाले च्यापेपनि खर्च अभावमा अस्पताल लैजान सकेका थिएनन् ।
शिशु जन्मेको खबर पश्चात देवानगंज गाउँपालिकाको कार्यालयका अधिकृत शिवकुमार निरौलाले घरमै स्वास्थ्यकर्मीको टोली लगेर आमा र बच्चाको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाई सहयोग स्वरुप ५ हजार उपलब्ध गराउनु भएको थियो । मुसहरी वस्तीमा रहेको रुनादेवीको परिवार सरह अन्य छर छिमेकीको अवस्था समेत आर्थिक रुपमा कमजोर रहेकाले सो परिवारकालागि सहयोग जुट्न सकेको छैन् ।
रुनादेवि चौथो सन्तानका रुपमा तिमल्याहा शिशुलाई जन्म दिनुभएको थियो । सन्तानको लालनपालन सहित बाँचेका नवजात शिशुलाई सुरक्षित राख्न स्वास्थ्योपचार सँगै परिवारको पेट पाल्न ऋषिदेव परिवार थप आर्थिक भार थपिएको छ ।
तस्बिर : सामाजिक सञ्जालबाट









