२६ असोज, अमर काफ्ले इनरुवा। दशैं बिदा पश्चात कार्यालय खुलेको ६ दिन बितिसक्यो । बिदामा घर गएका कर्मचारी ढिला कार्यालय फर्कनु कुनै नौलो कुरा हैन् । तर न्याय सम्पादनको जिम्मेवारी बोकेको प्रमुख अड्डानै एक सातायता प्रमुख विहिन बनेको छ ।
जिल्ला अदालत सुनसरीमा यतिवेला कुनै न्यायाधिस छैनन् । न्यायाधिस नहुँदा बन्दी प्रत्यक्षीकरण रिटलगायत महत्वपूर्ण मुद्दा प्रभावित बन्न पुगेका छन् । जिल्ला अदालत सुनसरीका सबै न्यायाधिसहरु सरुवा भएर अन्यत्र गएपनि आउनुपर्ने न्यायाधिसहरु बेलैमा आइनपुगेकाले सुनसरी जिल्ला अदालतबाट प्रदान हुने न्यायसेवा प्रभावित बनेको हो ।
सुनसरी जिल्ला अदालत बार एशोसिएशन इकाई इनरुवाका अध्यक्ष प्रेम पोखरेल जिल्ला अदालतमा भएका सबै छ जना न्यायाधीशको एकै पटक सरुवा भएपछि न्याय सम्पादन प्रकृया बाधित बनेको बताउनुहुन्छ । न्यायाधीश नहुँदा बन्दी प्रत्यक्षीकरण, मिलापत्र, अधिकृत वारेशनामा, दैनिक पेसी, थुनछेक समेत प्रभावित भएको पोखरेलले बताउनुभयो ।
न्याय परिषदले एकसाथ न्यायाधिसहरुको सरुवा गर्दा सरुवा भई जाने र नयाँ आउनेबीच बाटोको म्यादका कारण सुनसरी जिल्ला अदालत न्यायाधिस विहिन बन्न पुगेको सुनसरी बारले जनाएको छ । तीन दिन बढी न्यायाधिस अनुपस्थित रहे न्याय परिषद्ले काम चलाउकालागि न्यायाधिसको व्यवस्थापन गर्नुपर्ने भएपनि त्यसो समेत नहँदा जिल्ला अदालतबाट हुने न्याय सम्पादन प्रकृया ठप्प हुन पुगेको सुनसरी बारका अध्यक्ष प्रेम पोखरेलको भनाई छ ।









