८ कात्तिक इनरुवा । प्रतिनिधि सभा निर्वाचनकालागि भैरहेको टिकट वितरणको प्रकृया प्रति सुनसरी काँग्रेसका पूर्व सभापति रामबहादुर बस्नेतले असन्तुष्टि जनाउनु भएको छ । मंसिर २१ गतेका लागि तय भएको निर्वाचनमा सुनसरी क्षेत्र नम्वर ४ मा आफ्नो दाबेदारी रहँदारहँदै काँग्रेस सुनसरीले बाहिरिया व्यक्तिलाई उठाउने तयारी गरिरहेको प्रति बस्नेतले असन्तुष्टि व्यक्त गर्नु भएको हो ।
पञ्चायतकालिन अवस्थादेखि कांग्रेसमा रही पार्टी हीतमा समर्पित रहँदै आएको व्यक्तिको योगदानको कदर नहुने अवस्था सिर्जित हुँदै गएको प्रति वहाँले दुःख व्यक्त गर्नुभयो । पार्टी हीतमा पुर्याएको योगदानको उचित कदर हुने अवस्था नदेखेपछि अधिकार प्राप्तीकालागि त्यसको विरुद्धमा उत्रनुको विकल्प नभएको बस्नेतले भनाई छ । आउँदो प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्वर ४ बाट आफ्नो उम्मेद्वारी पक्का नभए काँग्रेसबाटै स्वतन्त्र उम्मेद्वारको मनोनयन गर्दा गरि छाड्ने वहाँले ठोकुवा गर्नु भयो ।
सुनसरीको निर्वाचन क्षेत्र नम्वर ४ बाट हालको वर्तमान मंत्री मण्डलका अर्थ मंत्री समेत रहनु भएका ज्ञानेन्द्र बहादुर कार्की चुनाव लड्ने तयारीमा हुनुहुन्छ । सुनसरी केन्द्रित रहेर कार्कीले चुनावी तयारी तिव्र बनाइरहँदा सुनसरी काँग्रेसका पूर्व सभापति रामबहार बस्नेतले भोजपुरबाट आएका पर्यटक उम्मेद्वार आफुहरुलाई स्विकार्य हुन नसक्ने भन्दै असन्तुष्ट काँग्रेसीहरुको नेतृत्वमा स्वतन्त्र उम्मेदवारीको तयारी थाल्न बाध्य भएको प्रतिकृया दिनुभएको छ । पर्यटक उम्मेद्वारलाई टिकट दिनु भनेको सुनसरी काँग्रेसमा रहेका अगुवा र योग्य नेताहरुको अपमान हो बस्नेतले भन्नुभयो ।
पार्टीले सुनसरीको ४ नम्वर क्षेत्रकै जो कोही उम्मेद्वार मैदानमा खडा गरोस त्यसमा आफ्नो आपत्ति भएन् तर बाहिरि जिल्लाका कार्कीले टिकट पाए त्यसको प्रतिकारमा आफु मैदान उत्रन बाध्य हुने बस्नेतले बताउनुभयो । सञ्चारकर्मी अमर काफ्लेसँगको कुराकानीमा कांग्रेस सुनसरीका पूर्व सभापति बस्नेतले आफ्नो असन्तुष्टिका बारेमा जिल्ला पार्टी पंक्तिसँगको छलफल पछि थप निर्णय लिने बताउनु भएको छ । उम्मेद्वारीका विषयमा पार्टीले आफ्नो पक्षमा निर्णय नगरे असन्तुष्ट कांग्रेसीहरुको उपस्थितीमा पत्रकार सम्मेलन गरी आफ्नो दावेदारी प्रस्तुत गर्ने बताउनु भएको छ ।
बस्नेतले कार्कीलाई पार्टीको नेतृत्व तहले विजय सुनिश्चत सरह रहेको आधार क्षेत्रमा टिकट दिई उम्मेदवारका रुपमा उभ्याउन लागेको धारणा राख्नुभयो । कार्कीको सुनसरी क्षेत्र नम्वर ४ बाट चुनाव लड्ने दाउलाई अर्काले मलजल गरी लगाएको बाली उब्जाउ हुने बेलामा आएर लुछ्ने प्रयत्न गर्नु सरह रहेको बताउनुभयो । भोजपुरे नेता कार्कीलाई कांग्रेस सुनसरीका पूर्व सभापति बस्नेतले जिल्लाकालागि कांग्रेस भित्रका पर्यटक नेताको संज्ञा दिनुभएको छ । कार्कीले सुनसरी क्षेत्र नम्वर ४ बाट टिकट पाउनु भनेको पुराना, इमान्दार र त्यागी कांग्रेसीहरुको अपमान हुने बस्नेतको बुझाई छ । जसकालागि जिल्लाबासी सबै कांग्रेसी एक हुन आवश्यक रहेको भन्दै बस्नेतले पर्यटक उम्मेद्वार कार्कीको सम्भावित उम्मेदवारी विरुद्ध आफु मैदानमा उत्रने तयारीमा जुटेको स्पष्ट पार्नु भयो ।









