अमर काफ्ले इनरुवा/प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनकालागि दलहरुले आज उम्मेद्वारको मनोनयन दर्ता गराउँदै छन् । बाम गठबन्धनमा आवद्ध नेकपा एमाले र माआवोदीले संयुक्त रुपमा उम्मेद्वार खडा गर्दैछन भने नेपाली काँग्रेस सहितका दलले समेत मनोनयन दर्ता गराउने समयसीमा निर्धारण गरिसकेका छन् ।
सुनसरीमा बाम गठबन्धनका तर्फबाट क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यकालागि जयकुमार राईले मनोनयन दर्ता गराउँदै हुनुहुन्छ । क्षेत्र नम्वर १ को प्रदेश सभा क बाट प्रदीप भण्डारी र ख बाट केन्द्रिय सचिव भीम आचार्यले मनोनयन दर्ता गराउदै हुनुहुन्छ । सुनसरी क्षेत्र नम्बर २ मा बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका डम्मरु सुवेदी हिमालले मनोनयन दर्ता गराउँदै हुनुहुन्छ ।
क्षेत्र नम्बर २ को प्रदेश सभा क बाट सर्वध्वज साँवालाई उम्मेद्वारका रुपमा खडा गरिदैछ । भने प्रदेश सभा ख बाट नेपाली काँग्रेस सुनसरीका उपसभापति रही हिजो साँझ मात्रै एमाले प्रवेश गर्नु भएका रामप्रसाद मेहतालाई एमालेले उम्मेद्वार बनाउने पक्का भएको छ । क्षेत्र नम्वर ३ बाट भगवति चौधरीले प्रतिनिधि सभा सदस्य तर्फको मनोनयन दर्ता गराउँदै हुनुहुन्छ ।
क्षेत्र नम्वर ३ को प्रदेश सभा क बाट लिलम बस्नेतले मनोनयन दर्ता गराउँदै हुनुन्छ भने ख मा रामदेव यादवको प्रवल सम्भावना रहेको एमाले सुनसरीले जनाएको छ । त्यसैगरी क्षेत्र नम्वर ४ को प्रत्यक्ष तर्फ रमेश श्रेष्ठले मनोनयन गर्दा गराउने पक्का भएको छ भने प्रदेश सभा क बाट जगदिशप्रसाद कुसैत र प्रदेश ख बाट भने बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जाकिर हुसेनले मनोनयन दर्ता गराउन लागेको एमाले सुनसरी अध्यक्ष रमेश बस्नेतले जानकारी दिनुभयो ।
सुनसरी क्षेत्र नम्वर १ मा प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेससँगको गबन्धनमा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईलाई उठाउने भनिएपनि आधिकारिक निर्णय भने भैनसकेको सुनसरी काँग्रेसले जनाएको छ । सो क्षेत्रको प्रदेश सभा क तर्फ बुद्धि कटवाल र ख बाट राजिव लामाको नाम आएपनि त्यसमा समेत अन्तिम निर्णय हुन बाँकी रहेको काँग्रेस सुनसरीले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्वर २ बाट पूर्व सांसद सीताराम मेहताले प्रतिनिधि सभा सदस्यकालागि मनोनयन दर्ता गराउने हुनुभएको छ । प्रदेश सभा क बाट हेमकर्ण पौडेल, र प्रदेश सभा ख बाट जिल्ला सभापति राजिब कोइरालाले मनोनयन गर्दा गराउने काँग्रेस सुनसरीले जनाएको छ ।
३ नम्वर क्षेत्रबाट विजय कुमार गच्छदारले प्रतिनिधि सभा सदस्य तर्फ मनोनयन गर्दा गराउँदै हुनुन्छ । प्रदेश सभा तर्फ भने टुङगो लागि नसकेको काँग्रेस पार्टी सचिव केदार भण्डारीले बताउनुभयो । सुनसरी क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्यकालागि अर्थमंत्री ज्ञानेन्द्र बहादुर कार्की उम्मेदवार बन्ने पक्का भएको छ भने प्रदेश सभा क को अन्तिम टुङगो लाग्न बाँँकी रहँदा ख बाट भने ताहिर अन्सारीले मनोनयन गर्दा गराउँदै हुनुहुन्छ ।









