२७ कार्तिक, इनरुवा। सुनसरी क्षेत्र नम्वर २ का नेपाली कांग्रेस तर्फका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सीताराम मेहताले घरदैलो कार्यक्रमलाई जारी राखेका छन् । इनरुवा १ बाट चुनावी प्रचारका रुपमा घरदैलो कार्यक्रम अघि बढाएका मेहताको साथमा कार्यकतासँगै स्थानीयको सर्मथन समेत बढ्दो छ ।
पार्टीको चुनावी नारा सहित स्थानीय उमेदवार र सुनसरीको राजनीतिसँगै विकास निर्माणमा निर्वाह गर्दै आएको भूमिकालाई आधार मानेर मेहता यतिवेला मतदाताका घरदैलोमा पुगिरहेकाछन् । सबैको साथ र बढ्दो समर्थनले हौसिएका मेहताले सुनसरी क्षेत्र नम्वर २ मा आफ्नो जितको आधार मजबुत बन्दै गएको प्रतिकृया दिएका छन् । वर्णमालासँगको कुराकानीका क्रममा मेहताले सुनसरी २ मा आफ्नो प्रतिष्पर्धी नभएको दावी गरे । उनले बाम गठबन्धनका उमेदवारलाई सहजै पराजित गर्ने दावी समेत गरे । आफु स्थानीय क्षेत्रको उमेदवार भएको र सबैले रुचाएको व्यक्ति भएकाले आफ्नो जित अकाट्य रहेको उनको भनाई छ ।
घरदैलोमा व्यस्त देखिने मेहताले मत माग्ने क्रममा स्थानीय र योग्य उमेदवारलाई जिताउन मतदाता समक्ष आग्रह गर्दै आएका छन् । मेहता भन्छन् मैले अझै धेरै गर्न बाँकी छ । अधुरा कामहरु क्रमश पुरा हुने क्रममै छन् । सांसद बनेपछि स्थानीय तहमा चालेका विकास निर्माण र प्रकृयामा रहेका विकासे चरणहरु अघि बढ्ने क्रममा छन् । जसको निरन्तरताकालागि यस क्षेत्रका मतदाताले आफुलाई साथ दिने उनको विश्वास छ । आफ्नो जितमा ढुक्क देखिएका मेहताले इनरुवा बजार क्षेत्रसहित दक्षिणी भेग र इटहरी उपमहानगर हुँदै रामधुनी नगरपालिकाका वडाहरुमा घरदैलो र चुनावी कार्यक्रमहरु गर्दै आएका छन् ।
मेहताले सोमबार विहान इनरुवा बजार क्षेत्रमा घरदैलो कार्यक्रम गरेका थिए । बजार क्षेत्रमा रहेका मतदाताका घरदैलोमा पुगी मत माग्न व्यस्त देखिएका मेहताले सद्भावना पार्टीका केन्द्रिय सदस्य डा. जितनप्रसाद मेहता सहितका दुई दर्जन बढी नेता कार्यकर्तालाई कांग्रेसमा पार्टी प्रवेश गराए । मेहताले सोमबारबाटै क्षेत्र नम्वर २ अन्र्तगतको इटहरी उपमहाननगरपालिका क्षेत्रमा समेत घरदैलो कार्यक्रमको थालनी गरेका छन् ।









