३० कार्तिक, इनरुवा। निर्धारित समयतालिका जतिनै नजिकिंदो छ उत्तिनै गाउँघर र टोलमा चुनावी माहोल समेत तातेको छ । सबै दलका उम्मेदवारहरु आफ्ना नेताको बिजय सुनिश्चित बनाउने आधार तय गर्न लागिपरेका छन् । पार्टीका तुल,ब्यानर र झण्डाले सबै निर्वाचन क्षेत्र रङिगएका छन् । दल विशेषका प्रचारमा खटिने कार्यकर्ताहरुको जमात दिनानुदिन थपिंदो छ ।
चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा ८ वटा प्रदेशसभा कायम गरिएका छन् । प्रतिनिधि सभा सदस्य तर्फ क्षेत्र नम्वर ३ र ४ लाई राजनैतिक वृतमा बढी महत्वका साथ हेरिएको छ । सुनसरी क्षेत्र नम्वर ३ मा हेबिवेट मानिएका नेता तथा उपप्रधान मंत्री बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यतर्फको उम्मेदवार बनेका छन् । सो क्षेत्रबाट बाम गठबन्धनकी उम्मेदवार भगवती चौधरी बिजयको प्रमुख प्रतिष्पर्धी बनेर मैदानमा छिन् । दुवैबिचको चुनावी भिडन्तलाई लिएर निकै टिकाटिप्पणी हुने गरेका छन् ।
दुवै नेताले चुनावी सभाहरुलाई सम्बोधनका क्रममा आआफ्नो जितको आधार बताउँदै कार्यकर्ता रिझाइरहेका छन् । मतदाताको रोजाईमा कुन उम्मेदवारले बाजी मार्लान त्यो भने चुनावी नतिजालेनै निर्क्योल गर्ने छ ।
सुनसरी क्षेत्र नम्वर ४ जहाँ अर्थमंत्री ज्ञानेन्द्रबहादुर कार्कीको मनोनयनसँगै चर्चामा छ । कार्कीको प्रतिनिधिसभा सदस्य तर्फको उम्मेदवारीसँगै कांग्रेसभित्रै देखापरेको असन्तुष्टिले कार्कीलाई सुरुवाती अवस्थामा चुनावी कार्यक्रम अघि बढाउन निकै पापड बेल्नु परेको थियो । रुष्ट कार्यकर्ताहरुलाई गोलबद्ध गरी कार्यकर्ता माझ होमिएको बताउने कार्कीलाई पार्टी भित्रैबाट विश्वास मत प्राप्त गर्न टाउको दुखाई बन्न सक्ने स्वयं कांग्रेसी कार्यकर्ताहरुकै बुझाई छ ।
भोजपुरे उम्मेदवार र रुष्ट कार्यकर्ताका कारण बाम गठबन्धनका उम्मेदवार रमेश श्रेष्ठ आफ्नो जितको आधार मजबुत मान्दै प्रचारमा व्यस्त छन् । अर्थमंत्री भएकै कारण ज्ञानेन्द्रले चुनाव जित्ने सम्भावना नरहेको श्रेष्ठको भनाई छ । बाम गठबन्धनका साझा उम्मेदवार र स्थानीय नेता भएकाले आफ्नो जित सुनिश्चित रहेको नेकपा एमाले तर्फका नेता श्रेष्ठको दावी छ ।









