३० कार्तिक, इनरुवा। सुनसरी प्रहरीले हातहतियार भित्रन सक्ने आंशकालाई मध्यनजर गर्दै जिल्लामा तालिम प्राप्त कुकुर सहितको चेकजाँच अघि बढाएको छ । विशेषगरी प्रहरीले सवारीका साधनहरुमा चेकजाँचको क्रमलाई अघि बढाएको हो ।
यात्रु ओसारपसार गर्ने सवारीका साधन सहित निजि सवारी उपर समेत प्रहरीले चेकजाँच थालेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सन्तोष पोखरेल नेतृत्वको टोेलीले सवारी साधन उपरको चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग थालेको छ । चेकजाँचलाई तिव्रता दिइने सुनसरी प्रहरीले जनाएको छ । प्रहरी प्रमुख एसपी विद्यान्नद माझीका अनुसार नजिकिंदो चुनाव र शान्ति सुरक्षालाई मध्यनजर गर्दै सवारीका साधन चेकजाँच थालिएको बताए । खुल्ला सीमाना र भित्रिन सक्ने हातहतियारलाई मध्यनजर गर्दै सबै नाका सहित सम्भावित भिडभाड हुने र चोक तथा गल्लीहरुमा प्रहरीको उपस्थिती दरिलो बनाइएको एसपी माझीले जानकारी दिए ।








