११ मंसिर, इनरुवा। आइतबार साँझ भोक्राहा गाउँपालिका ६ नरसिंहस्थित मुसहरी बस्तीमा आगलागी भएको छ । आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो ।
स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् । उक्त आगलागी प्रहरी, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मुसहर बस्तीमा आगलागी भएपछि हातमुख जोड्न समस्या भएकाले तत्काल राजपा नेपालका नेता तथा सो क्षेत्रका उम्मेदवार रामनारायण यादवले राहत प्रदान गर्नुभएको थियो । यादवले प्रतिपरिवार एक बोरा भुजा, च्युरा, तरकारी, नून, भुजिया लगायतका राहत सामग्री वितरण गर्नुभएको राजपाले जनाएको छ । यसैगरी वडा कार्यालयले साँझ प्रतिपरिवार एक बोराका दरले चामल, नून, तरकारी, एक बोरा भुजा, पाँच केजीका दरले च्युरा, एक लिटरका दरले खाने तेल, दुई केजी दाल, पाँच केजी आलुलगायतका राहत सामग्री वितरण गरेको वडा कार्यालयका रामचन्द्र यादवले जानकारी दिनुभयो । तस्बिर: फेसबुक वालबाट










