मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ। परिस्थितिले समस्याको मोडमा पुर्याउन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। केही विशिष्ट व्यक्तिहरू नजिकिए पनि साइनो गाँस्नेहरूले भने दु:ख दिन सक्छन्, सजग रहनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु कामले अल्झाउन सक्छ। आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ। लेनदेनमा विवाद हुन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चालु बन्नेछ। लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। तापनि मिहिनेतले सफलता दिलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। गृहस्थीले मनमा आनन्द दिलाउनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्, सुरक्षामा ध्यान दिनुहोला। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सम्पादन गर्न सकिनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। मिहिनेतले सफलता दिलाउनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। मिहिनेतले फाइदा दिलाउनेछ। बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन होला। आजको कामबाट दिगो फाइदा हुनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सहयोगीहरूले हात झिक्नाले परिस्थिति आफ्नो पक्षमा नरहन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले सताउनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। व्यवसायमा अपेक्षित फाइदा नहुन सक्छ। दाजुभाइमा असमझदारी देखापर्न सक्छ। सोखले खर्च गराउने समय भएकाले उठेको आम्दानी सञ्चय गर्न नसकिएला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। समाजमा आफ्नो प्राभ बढ्न सक्छ। तर अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। नयाँ योजना कार्यान्वयन गर्न निकै मिहिनेत गर्नुपर्ला। तापनि, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। रमाइलो जमघटमा सहभागी हुने अवसर जुट्नेछ। तर, सरकारी कामकाजमा अलमल हुन सक्छ। खानपानको असावधानीले स्वास्थ्य बिग्रनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउलान्। कामका लागि धाउनेहरूबाट सजग रहनुपर्ला। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला।








