१७ मंसिर, इनरुवा। मंसिर २१ गतेको निर्वाचनलाई लक्षितगरी सुनसरीमा विशेष सुरक्षा दस्ता परिचालन गरिएको छ। सुनसरी प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षितगरी जिल्लामा विशेष सुरक्षा दस्ता परिचालन गरेको जनाएको छ। चुनाव विरोधी गतिविधिलाई निस्तेज पार्न मजबुत सुरक्षा प्रवन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीले बताउनु भयो ।
प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अहिले सम्म चुनाव विरोधी गतिविधीमा संलग्न १६ जनालाई पक्राउ गरेको छ । चुनाव विरोधी गतिविधिमा संलग्न हुन सक्ने आशंकामा सम्भावित व्यक्ति उपर निगरानी र खोजी तिव्र पारिएको सुनसरीका एसपी माझीले जानकारी दिनुभयो । मंसिर २१ को मिति नजिकिएसँगै नेपाल भारत सीमामा चेकजाँचमा समेत कडाई गरिएको सुनसरी प्रहरीले जनाएको छ । एसपी माझीले जिल्लामा रहेका सबै मतदान केन्द्रको सुरक्षा बढाइएको र म्यादी सहित नेपाल प्रहरीलाई मातहतमा खटाइसकिएको बताउनुभयो । प्रहरीले विभिन्न स्थानमा सवारी चेकजाँचसँगै शंकास्पद व्यक्तिहरुको खानतलासी समेतको क्रमलाई अघि बढाएको माझीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनसरीमा सबै सुरक्षा निकायबिचको समन्वयमा एकिकृत सुरक्षा रणनीति लागु गरिएको छ । जिल्लामा म्यादी र नेपाल प्रहरीका मात्रै ४ हजार जनशक्ति परिचालन गरिएका छन् ।








