२१ मंसिर, अमर काफ्ले इनरुवा। ११ बजेसममा सुनसरीमा ३० प्रतिशत मत खसेको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान शान्तिपूर्ण र भयरहीत वातावरण संचालनमा रहेको जनाएको छ । सुनसरीको अधिकांशजसो मतदान केन्द्रमा विहान ७ बजे अगावै मतदाताहरु लाइनमा बसेका थिए ।
सुनसरीका ५ सय २७ मतदान केन्द्र मध्ये १५ मतदान केन्द्रमा केहिबेर ढिलागरी मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । समयमै कर्मचारी तथा प्रतिनीधिहरु नपुगेपछि ति स्थानहरुमा मतदान प्रकृया ढिला हुन पुगेको जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर भट्टराईले जानकारी दिनुभयो । मतदान गर्नकालागि महिला र पुरुष सहित जेष्ठ नागरिक र अपाङगता भएकाहरुकालागि छुट्टा छुट्टै प्रवेशको व्यवस्था मिलाइएकाले समेत मतदान प्रकृयालाईलाई मतदाताहरुले सहज रुपमा लिएका छन् । केहि मतदान केन्द्रहरुमा एकसाथ भिड बढेपछि सुरक्षाकर्मीले भिड व्यवस्थापन गरी मतदान प्रकृयालाई अघि बढाएको छ ।
सुनसरीमा १ सय ६६ वटा मतदान स्थल रहेका छन् । कुल ४ लाख ७४ हजार ८ सय ३१ मतदाता रहेको सुनसरीमा २ लाख ३७ हजार ८ सय ३६ महिला र २ लाख ३६ हजार ९ सय ९५ जना पुरुषले निर्वाचनमा सहभागिता जनाउँदैछन् । यसैबिच जिल्ला सुरक्षा समिति सुनसरीले मतदान पश्चात मतपेटिका भण्डारण तथा मतगणनाकालागि बनाइको मत गणना कक्षको अनुगमन गर्नुका साथै सो क्षेत्रको सुरक्षा व्यवस्था बढाएको छ ।
सुनसरी निर्वाचन क्षेत्र नम्वर १ र ४ को मतगणना मूख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भगवती माविको भवनमा गर्ने तयारी गरिएको छ भने क्षेत्र नम्वर २ र ३ को मतगणना जिल्ला समन्वय समितिको भवनमा गर्नेगरी तारजाली, तथा सिसि क्यामेरा सहितको सुरक्षा बन्दोवस्ती मिलाइएको छ । सुनसरीमा सम्भव भएसम्म आजै राती अबेरबाट मतगणना गरिने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो









