सुनसरीमा मंसिर २१ गते सम्पन्न प्रतिनिधी र प्रदेश सभा तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधी सभा तर्फ ४ निर्वाचन क्षेत्र रहेको सुनसरीमा दुइ स्थानमा कांग्रेस बिजयी हुदा एक स्थानमा एमालेले बाजी मारेको छ । बांकी एक स्थानमा बिवादका कारण अन्तिम मतपरिणाम आउन सकेको छैन ।
क्षेत्र नम्बर एक मा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईको लाज्जास्पद हार भएको छ । राइलाइ एमालेका उमेद्धवार जयकुमार राइले दोब्बर मत अन्तरले पराजित गर्नुभएको छ । जयकुमारले अशोकलाई २२ हजार ४ सय ५ मतले पराजित गर्नुभएको छ । जयकुमारले ४४ हजार ५ सय २८ मत ल्याउनुभयो भने अशोक राईले २२ हजार १ सय २३ मत मात्र पाउनुभयो । पराजित अशोक राईलाई नेपाली कांग्रेसले समेत सहयोग गरेको थियो । पराजित अशोक राई यसअघि खोटाङ र उदयपुरबाट उम्मेदवार बन्नुभएको थियो । यसपालि क्षेत्र परिवर्तन गर्दै सुनसरी आइपुगेका राई फेरी पनि पराजित हुनुभएको हो । २०७० सालको चुनावमा समानुपातिकबाट सांसद बनेका राई संघीय समाजवादी फोरमको संसदीय दलको नेता समेत बन्नुभएको थियो ।
यस्तै सुनसरी २ मा नेपाली कांग्रेसका सिताराम मेहेता विजयी हुनुभएको छ । मेहेताले माओवादी केन्द्रका डम्मरु सुवेदी हिमाललाई ६ हजार १ सय ४६ मतले पराजित गर्नुभएको छ । मेहेताले ४१ हजार ४ सय ९५ मत पाउनुभयो । सुवेदीले ३५ हजार ३ सय ४९ मत पाउनुभयो । सुनसरीको इनरुवा निवासी नेपाली कांग्रेसका नेता मेहेता यसअघि २०७० सालको चुनावमा सुनसरी क्षेत्र नं ४ बाट विजयी हुनुभएको थियो । यसपटक भने उहाले अन्तिम समयमा सुनसरी २ बाट टिकट पाउनुभएको थियो । पूर्व यातायात राज्यमन्त्री मेहेताका १८ वर्षको उमेर देखी राजनीतिमा लागेका हुन । मेहेता २०२८ सालदेखि नेपाल विद्यार्थी संघमा सक्रिय हुनुभएको थियो । उहा २०३१ सालमा नेपाल विद्यार्थी संघ सुनसरीको जिल्ला सभापति र २०३५ सालदेखि नेपाली कांग्रेस सुनसरीको सदस्य बन्नुभएको थियो । २०४९ सालमा भएको स्थानीय चुनावमा उहा इनरुवा नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकावाट विजयी हुनुभएको थियो ।
यस्तै सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा बिवाद भएको छ । ९ वटा मतपत्र अर्धकट्टी सहित भेटिएपछी विवाद भएको हो । सो क्षेत्रमा एमालेकी भगवती चौधरी र कांग्रेसबाट उपप्रधानमन्त्री विजयकुमार गच्छदार बीच कडा प्रतिस्पर्धा छ ।
यस्तै सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । कार्कीले ३२ हजार ३ सय ४७ मत पाउनुभएको छ । उहाको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश श्रेष्ठले २५ हजार ७ सय ५० मत पाउनुभयो । कार्की र श्रेष्ठ बीचको मतान्तर ६ हजार ५ सय ९७ छ । भोजपुरका कार्की भोजपुरबाटै राजनिति गर्दै यस पटक क्षेत्र परिर्बतन गरेर सुनसरी आउनुभएको हो । विगतमा बिपि कोइराला र गिरिजाप्रसाद कोइरालाले राजनीति गरेको यस क्षेत्रमा यसअघि कोइराला परिबारकै सुजता कोइरालाले चुनाब लडेर पराजित हुनुभएको थियो । यस पटक कार्कीले बिपिको बिरासत जोगाउनुभएको छ । प्रदेश सभामा मिश्रित परिणाम सुनसरीमा प्रदेश सभा तर्फ मिश्रित परिणाम आएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ क मा बाम गठबन्धनका उम्मेद्ववार बिजयी भएका छन । सुनसरी एक क बाट प्रदेशसभामा एमालेका प्रदिप भण्डारी विजयी हुनुभयो । भण्डारीले कांग्रेसका किशोर राईलाई पराजित गर्नुभयो । उहाले १९ हजार २ सय ४३ मत ल्याउनुभयो भने उहाका निकटतम प्रतिद्धन्दी नेपाली कांगेसका किशोर राईले १३ हजार ७ सय ७० मत ल्याउनुभएको छ । यस्तै क्षेत्र नम्बर १ को प्रदेश सभा ख तर्फ एमालेका उमेद्धवार भीम आचार्यले बिजयी हुनुभयो । उहाले कांग्रेसका बुद्धी कटुवाललाइ पराजित गर्नुभयो । आचार्यले २० हजार २ सय ११ मत ल्याए भने कटुवालले १२ हजार ९ सय ६७ मत ल्याउनुभयो । क्षेत्र नम्बर २ क मा एमालेका सर्वध्वज सावा बिजयी हुनुभयो । उहाले काग्रेसका हेमकर्ण पौडेललाइ ५ हजार बढी मत अन्तरले पराजित गर्नुभयो । सावांले २४ हजार ६ सय ७४ मत ल्याउदा पौडेलले १९ हजार २ सय ६५ मत ल्याउनुभयो । यस्तै सुनसरी क्षेत्र नम्बर २ ख प्रदेश सभा तर्फ पनि कांग्रेसले जित हात पारेको छ । सो क्षेत्रमा नेपाली कांग्रेसका राजीव कोइराला बिजयी हुनुभएको छ । कोइरालाले एमालेका उमेद्धवार रामप्रसाद मेहेतालाइ १४ सय १७ मतान्तरले पराजित गर्नुभएको छ । कोइरालाले १७ हजार ८ सय ९२ मत ल्याउनुभयो भने मेहेताले १६ हजार ४ सय ७५ मत मात्र ल्याउनुभयो । कोइराला २०३५ सालमा नेपाल विद्यार्थी सङ्घको सदस्य भएका कोइराला नेपाली काङ्ग्रेस सुनसरीको सचिव दुई कार्यकाल र नेपाली काङ्ग्रेस सुनसरीको सभापति दुई कार्यकाल हांकिसक्नुभएको छ । यस्तै क्षेत्र न. ३ क मा काग्रेसका कुमारजंग थापालाइ फराकिलो मत अन्तरले हराउदै उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष समेत रहेका लिलम बस्नेत बिजयी हुनुभएको छ । बस्नेतले १९ हजार ६ सय ६५ मत ल्याउदा थापाले १७ हजार ६ सय ८१ मत ल्याउनुभयो । यस्तै क्षेत्र नम्बर ४ को क मा एमालेका जगदिश कुशियत बिजयी हुनुभयो । उहाले कांग्रेसका रेवतीरमण दुलाललाइ पराजित गर्नुभएको छ । कुसियतले १६ हजार ६ सय ९० मत ल्याउदा दुलालले १५ हजार ९ सय ८२ मत ल्याउनुभयो । यस्तै सुनसरी क्षेत्र नम्बर ४ को ख प्रदेश सभा तर्फ कांग्रेस ताहिर अन्सारी बिजयी हुनुभयो । उहाले माओवादीका जाकिर हुसेनलाइ पराजित गर्नुभएको हो । अन्सारीले ११ हजार ८ सय २५ मत ल्याउदा हुसेनले ७ हजार ६ सय ७० मत ल्याउनुभयो ।









