२९ मंसिर, अमर काफ्ले इनरुवा। सुनसरीमा समानुपातिक तर्फ जारी मत गणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमाले अगाडी रहेको छ । एमालेले सुनसरीमा सुरुवाती अवस्थादेखिकै अग्रता कायम गर्दै आएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीले उपलब्ध गराएको विवरण अनुसार नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचन समानुपातिक तर्फ ८८ हजार ८ सय ५ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले ७७ हजार ९ सय २५ मत पाउँदा माओवादी केन्द्रले १५ हजार ९ सय २२ समानुपातिक मत ल्याएको छ । त्यसैगरी संघीय समाजवादी फोरम नेपालले १२ हजार ७० मत ल्याउँदा विवेकशिल साझा पार्टीले ४ हजार ३ सय ७६ , राजपाले ४ हजार २ सय, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचले २ हजार १ सय ५४ , राप्रपाले २ हजार ९६ , राप्रपा प्रजातान्त्रिकले १५ सय ८० र नयाँ शक्ति पार्टीले ११ सय ५६ मत ल्याएको छ । प्रदेश सभा सदस्य निर्वाचन तर्फको समानुपातिकको मतमा समेत एमालेनै अघि छ । एमालेले अहिले सम्म २ हजार ५ सय ६, नेपाली कांग्रेसले ७० हजार ५ सय ९२, माओवादी केन्द्रले १६ हजार ७ सय ६३, संघीय समाजवादी फोरमले १२ हजार ६ सय २२ विवेकशिलले ३ सय ७५ मत पाएको छ । समानुपातिक तर्फको मत गणना अन्तिम चरणमा पुगेकाले भोली सम्ममा सबै परिणाम सार्वजनिक हुने जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर भट्टराईले जानकारी दिए ।








