६ पौष, इनरुवा। नेकपा एमालेका सचिव भीम आचार्यले जनताको विश्वाससँगै प्राप्त अभिमतको सदैव सम्मान गरिने बताएका छन् । नेता आचार्यले निर्वाचन परिणामसँगै बामगठबन्धनले हाँसिल गरेको उचाई समग्र मुलुकको समृद्धिकालागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । आचार्यले बिकास निर्माणसँगै आर्थिक समृद्धि सहितको समुन्नत देश निर्माणकालागि अब बन्ने बाम नेतृत्वको सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
नेकपा एमाले जिल्ला पार्टी कार्यालय सुनसरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आचार्यले मुलुकको हीत विपरितका अन्तराष्ट्रिय सन्धि र सम्झौताको पुनरावलोकन सहितको विदेश नीतिका बारेमा समेत एमाले सरकारले छुट्टै रणनीति अघि बढाउने तयारी थालिएको समेत जानकारी गराए । उनले मुख्य मंत्री को हुने भन्ने विषय टुङ्गो नलागेकाले दावेवारी क– कस्को भन्दापनि पार्टीको आधिकारिक निर्णय कुर्नुनै उपयुक्त हुने धारणा राखे । नेता आचार्यले सुनसरीमा रहेर विभिन्न संचारमाध्यममा कार्यरत रहेका दुई दर्जन बढी पत्रकारहरुलाई पार्टी प्रवेश गराएका थिए ।








