६ पौष, इनरुवा। प्रतिनिधि सभा निर्वाचनमा वेहोरेको पराजयका बाबजुत सुनसरी क्षेत्र नम्वर २ का बाम गठबन्धनका उम्मेदवारहरु मतदाताका घरदैलोमा पुगेर धन्यवाद दिइरहेका छन् । घरदैलो अभियान थालेका गठबन्धनका प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य तर्फका उम्मेदवार सहित एमाले नेताहरुले घरदैलो अभियान सुरु गरेका हुन् ।
नेकपा एमाले प्रदेश नं १ का सदस्य खेमराज पोखरेल, सल्लाहकार पोष्टकुमार नेपाल सहित सुनसरी क्षेत्र नम्वर २ को प्रतिनिधिसभा सदस्य तर्फका उम्मेदवार बनेका डम्बर सुवेदी हिमाल र प्रदेशसभा तर्फ रामप्रसाद मेहता सहितको टोलीका सदस्यहरुले मतदाताहरुलाई घर घरमा भेटेर साथ र सहयोगका लागि धन्यवाद दिइरहेका छन् ।वामगठबन्धनको टोलीले चुनावी नतिजा आफुहरुको पक्षमा नभए पनि जनताका समस्याहरु समाधानका लागी पार्टीगत संरचना मार्फत जनता माझ रहने प्रतिवद्धता जनाउने गरेको छ । सुनसरी २ मा पराजयपछि चुनावी समिक्षा समेत गरेको एमालेले आउँदा दिनमा संगठनात्मक मजबुतिका थप प्रयासहरु अघि बढाउने निर्णय समेत गरिसकेको एमाले नेता खेमराज पोखरेलले बताए ।








