११ पौष, मिकाइल आलम इनरुवा। सुनसरीको भारतीय नाकासंग सीमाना जोडिएका गाविसहरुमा चोरी र तस्करीका घटना बढ्न थालेपछि स्थानीय बासिन्दा असुरक्षित महसुस गर्न थालेको छ ।
सीमा क्षेत्रमा सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले नियमित गस्ती गर्न छाडेपछि भारतीय सिमाना जोडिएका गाविसमा शान्ति सुरक्षा कमजोर बनेको सीमा क्षेत्रका स्थानीयहरुले बताएका छन् । सुनसरी हरिपुर, श्रीपुर, पश्चिम् कुसहा, कप्तानगन्ज, देवानगन्ज, वस्नतपुर, घुस्की, भुटहा लगायत साविक गाविसका स्थानीय बासिन्दाले सीमा क्षेत्रमा चोरी तस्करी बढेको भन्दै ध्यानाकर्षण गराएका छन् । सुनसरीको श्रीपुरका का स्थानीय हजरत अलिले नियमित भारतीय चोरहरु चौपाया चोर्न गाउँ पस्ने गरेको बताए । अलिले गाउँमा भारतीय चोरहरुको बिगबिगी बढेको बताउदै यसलाई नियन्त्रण गर्न प्रहरीले थप निगरानी बढाउनु आवश्यक रहेको बताए ।
सीमा क्षेत्रमा रातीको समयमा भारतीय बजारहरु बाट अवैध रूपमा चोरीपैठारी गरेर दैनिक लाखौंको मालसामान नेपाल तर्फ भित्रीने गरेको श्रोतले जनाएको छ । प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन पछि सीमा क्षेत्रमा चोरी र तस्करीको घटना बढेको बताइएको छ । भारतीय चोरहरुको समूहले चोरी गर्न थालेपछि सीमा क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्न थालेका छन् भने कोही बस्तु गोठमा ओछ्यान लगाएर सुत्ने गरेका छन् । बस्तुभाउँ समेत चोरी हुन थालेपछि उनीहरु समस्यामा परेको घुस्कीका अलि हुसेन अन्सारीले बताए । यता सुनसरी प्रहरीका प्रवक्ता डिएसपि नारायणप्रसाद चिमौरियाले सीमा क्षेत्रमा प्रहरीको जनशक्ति अभाव भएपनि नेपाल प्रहरीले सीमावर्ती क्षेत्रमा नियमित गस्ती गर्दै आएको बताए ।








