१२ पौष, इनरुवा। गुणस्तरहीन निर्माण कार्य गरेको भेटिएको भन्दै इनरुवाका स्थानीयवासीले कालिका कन्ट्रक्सनले जारी राखेको पक्की ढलनाला निर्माण कार्य रोकेका छन् । इनरुवाको साविक होलीमा निर्माणाधिन अवस्थामा रहेको पक्की ढलनाला निर्माणका क्रममा ठेकेदारले कमसल सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले छानविनको माग समेत गरेका छन् ।

ढल निर्माणका क्रममा प्रयोग गरिने बालुवा, गिटी र सिमेन्टको मिश्रण स्टिमेट विपरित हाल्ने गरेको पाइएको भन्दै स्थानीयले निर्माण सम्पन्न भएका स्थानमा समेत लापरवाही भएको हुन सक्ने आशंका जनाएका छन् । स्थानीयवासी बिनोद अटलले मापदण्ड भन्दा बाहिर गएर ठेकेदारले आफुखुसी काम गर्ने गरेको प्रमाण फेला परेकाले काम रोकाएर छानविनको माग गरिएको बताए । यसअघि समेत गुणस्तरहीन कामको बारेमा जानकारी गराएपनि गल्ती नसच्याएकाले काम रोकिएको अटलले बताए ।

यसैगरी इनरुवा ४ स्थित सुनसरी खोलादेखि स्वर्गद्धारी टोल सहित इनरुवा बस चौक शहीद गेट हुँदै इनरुवा अस्पतालको मूल गेट सम्म निर्माण हुँदै गरेको सडकको दायाँबायाँको पक्की ढलनाला समेत कमसल सामाग्री प्रयोग गरी निर्माण भैरहेको स्थानीयहरुले बताएका छन् । कश्यप विद्यापिठका संचालक तथा स्थानीय उपभोक्ता जिबानन्द झाले कमसल सामाग्री प्रयोग गरी संरचना निर्माण भैरहेकाले वास्तविकता छानविनको माग गरे । उता कालिका कन्ट्रक्सनका साइड इन्जिनियर संजय घिमिरेले ठेकेदारको लापरवाही भए नभएको छानविन गरि दोषी पाइए सम्वन्धित साइडका ठेकेदार उपर कार्वाही गरिने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia