१५ पौष, मिकाइल आलम इनरुवा । सुनसरीमा रहेको दर्जनौं सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मनोमानी बढेको पाइएको छ । संचारकर्मीहरुले गरेको अनुगमनको क्रममा यस्तो पाइएको हो । अनुगमनको क्रममा जिल्लाको दर्जनौं सरकारी स्वास्थ्य चौकीहरुमा कर्मचारी तथा स्वास्थ्यकर्मी ११ बजे सम्म पनि कार्यालयमा नआएको देखियो ।
सो क्रममा कोशी क्षेत्रका स्थानीयहरुले दिएको जानकारी अनुसार जाडोयामको समयमा स्वास्थ्यकर्मी आफूखुसी आउने र जानेको गरेको छ । स्वास्थ्यकर्मीहरु आफ्नो समयमा आउने र आफुखुशी जाने क्रमले स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको पनि सेवा लिन बाट भने उनीहरू बन्चित भएको पाइएको छ ।
सुनसरी कोशी गाउँपालीका वडा नम्बर ७ स्थिर साविक हरिपुरमा रहेको उपस्वास्थ्य चौकीमा कैयौं दिनदेखि स्वास्थ्यकर्मी समयमा नआउँदा बिरामी उपचार गर्न नपाएको स्थानीय राजकुमार साहले बताए । साहले उपस्वास्थ्य चौकीका कर्मचारी र स्वास्थ्यकर्मी ढिलो गरि आएपनि कार्यालय समय सम्म कार्यालयमा नबस्ने गरेको गुनासो गरे । उनले घर नजिकै स्वास्थ्य चौकी भएर पनि बिरामी परेको अवस्था निजी क्लिनिकमा उपचार गर्न जानुपर्ने बाध्यता रहेको सुनाए ।
श्रीपुरका चन्दु यादवले स्वास्थ्यकर्मीहरु नभेटीने समस्याले सेवा लिन आउने सेवाग्रहीहरु ग्रसित रहेको बताए । सरकारले दिने स्वास्थ्यसेवा उपभोग गर्न आउने बिरामीहरु स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुदा पीडित बन्दै आएका छन । जिल्लाको अधिकान्श सरकारी स्वास्थ्य संस्थामा भौतिक श्रोतसाधन प्रयाप्त भएपनि स्वास्थ्यकर्मीको मनोमानीका कारण स्वास्थ सेवा प्रभावकारी हुन सकेको छैन । जिल्ला अस्पतालका प्रमुख डा. मुकुन्द राज गौतमले अस्पताल लाइ सुधार गर्ने प्रयास गरेपनि केही कर्मचारी तथा स्वास्थ्यकर्मीको कारण जिल्ला अस्पताल,स्वास्थ चौकी,उपस्वास्थ्य चौकीको सेवामाथी प्रश्न उठ्दै आएको छ ।









