१७ पौष, इनरुवा। जग्गाको ब्लु प्रिन्ट (नक्सा) नै नक्कली निकालेर बैंक तथा जग्गा खरीदकर्तालाई ठगी गर्ने गिरोहमाथि जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धान थालेको छ । प्रहरीले इन्जिनियरहरुको उजुरीका आधारमा जग्गा खरीद गर्न खोज्ने व्यक्तिलाई समेत पक्राउ गरेको छ ।

नक्साको ब्लु प्रिन्ट र ट्रेस नक्सा नै नक्कली बनाएर ठगी गर्ने क्रममा इलाका प्रहरी कार्यालय इटहरीले समातेका इनरुवा ५ का तीर्थराज भट्टराई, टंकबहादुर श्रेष्ठ र सिन्धुपाल्चोकका विश्वराम नेपाललाई जिल्ला प्रहरी कार्यालय इनरुवा पठाएको थियो । उनीहरुलाई म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जानकारी दिए । सोमबार नेपाल भ्यालुअर एशोसिएसन पूर्वाञ्चल च्याप्टरको उजुरीका आधारमा खरीद गर्न खोज्ने राजेश शर्मा समेत पक्राउ परेका छन् । शर्माले सवा करोडको जग्गालाई ६ करोडमा किनेको भनेर बैंकबाट चार करोड रुपैया ऋण लिन खोजेको इन्जिनियरहरुको आरोप छ । शर्माले किनेको मूल्यकै आधारमा ज्योति विकास बैंक झुम्का शाखाबाट ऋण निकाल्न खोजेको बताइएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले नापी कार्यालय सुनसरीबाट नक्सा प्रिन्ट (ब्लुप्रिन्ट), कम्प्युटर प्रिन्ट र इमेज प्रिन्टसमेत लगिसकेको छ । नापी कार्यालय सुनसरीका प्रमुख अरविन्द कुमार सिंहले लेखापढी व्यवशायीहरुको संलग्नतामा कसैले हुलमुलमा प्रिन्ट गरेको हुनसक्ने बताएका छन् । नापी कार्यालयमा ब्लुप्रिन्ट गरिन्छ । यस्तो ब्लुप्रिन्ट अन्यत्र गर्न सम्भव नहुने हुँदा कार्यालयका कर्मचारी समेतको मिलेमतो शंका गरिएको छ ।

पक्राउ परेका तीन जना व्यक्तिले राधादेवी भट्टराई र शेरबहादुर श्रेष्ठको नामको सुनसरीको मधेसा वडा नं. ४ (ख) मा रहेको कित्ता नम्बरहरु २०६, २७९ र ७३६ का जग्गाहरु बिक्रि गर्न खोजेको इन्जिनियर रविन थापाले बताएका छन् । थापाले पछि शंका लागेपछि खरीदकर्तालाई सचेत गराएका थिए । कार्यालयमा रहेको नक्सा जाँच गर्दा जग्गा कारोबारीहरुले दिएको नक्सा किर्ते भएको पत्ता लागेको थियो ।

नापी विभागको छाप र प्रमाणित गर्नेको हस्ताक्षर सहितको ब्लुप्रिन्टमा गाउँ भित्रको जग्गाको कित्ता नम्बर राजमार्गनजिक ठाउँ परिवर्तन गरेर राजमार्ग छेउ पारिएको हो । ट्रेस नक्सामा २७९ नं. को जग्गा राजमार्गको छेउमा देखाइएको छ, जबकी उक्त जग्गा राजमार्गको निकै भित्र छ ।
नापी विभागको छापसमेत लगाइएको ट्रेस नक्सामा उतार गर्ने नाममा विकु यादव, चेक गर्ने स. अमर कुमार झा र प्रमाणित गर्ने नापी अधिकृत अरविन्द कुमार सिंहको हस्ताक्षर छ । ज्योति विकास बैंकले मागेको आधारमा उक्त नक्सा बनाइएको हो । नक्सामा प्रयोग गरिएका हस्ताक्षर किर्ते गरिएको नापी कार्यालय इनरुवाले जनाएको छ । नेपाल भ्यालुएसन एशोसिएसन पूर्वाञ्चलले नक्कली नक्साको आधारमा गरिएको मूल्यांकनका क्रममा इन्जिनियरहरु फँस्ने गरेका छन् । यो पटक भने इन्जिनियरहरु नै किर्ते नक्सा बनाउनेहरुलाई कारवाहीको दायरामा ल्याउन कस्सिएका हुन् ।‍- न्युजलयबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia