१८ पौष, मिकाइल आलम इनरुवा। अरु बेला खासै भिडभाड नदेखिने भाणटावारी बजारमा सोमबार भने भारतीय ग्राहकले भरिभराउ देखिन्थ्यो । ई.स: २०१८ को आगमन संगै भारतीयहरु खुशी आदानप्रदान गर्न छिमेकी मुलुक आउँदा सुनसरीको सीमावर्ती क्षेत्रका होटेलहरु भारतीयले भरिभराउ देखिन्थे ।

भारतीय ग्राहकहरुको अत्यधिक भिडले भाणटावारी बजार मात्र नभए सुनसरीको सीमावर्ती क्षेत्रका होटेल संचालकहरु लाई व्यवस्थापन गर्न भ्याइनभ्याई थियो । नयाँ साल मनाउन भारतको विभिन्न राज्यहरु बाट नेपाल आएका भारतीय ग्राहकहरुले सीमा क्षेत्रका होटेलहरुमा मात्र लाखौंको मदिराको व्यापार भएको अनुमान गरिएको छ । हिजो सोमबार सुनसरीको भाणटावारी र कोशी ब्यारेज क्षेत्रमा रहेको तीन दर्जनबढी मदिरा होटेलहरुमा मात्र लाखौंको मदिरा बिक्री भएको बताइएको छ ।

भारतबाट परिवार सहित घुम्न आएकाहरुले मदिरा सेवन नगरेपनि साथीसँग आएकाहरुको पहिलो रोजाइ मदिरा नै भएको कोशी ब्यारेजका कल्पना कुमारीले बताइन् । कोशी ब्यारेज क्षेत्रमा विगत १५ वर्ष देखि होटेल व्यवसाय गर्दै आएकी कल्पनाले सोमबार साझ सम्म ४० हजार बढीको कमाई गरेको सुनाइन् । अरु समयमा पनि कोशी घुम्न आउने आन्तरिक पर्यटकहरुको भिडभाड हुने गरेपनि नयाँ वर्षको दिन भारतीय ग्राहकले व्यवस्थापन गर्न भ्याइनभ्याई भएको उनले बताइन् ।

कल्पनाले भारतीय ग्राहकको उपस्थितिले व्यापार फस्टाए पनि उनीहरूको ब्यवहार मन नपरेको बताइन् । मदिरा सेवन गरेर उनीहरू जथाभावी होहल्ला गर्ने र भएको पैसा दिनमा कन्जुस्याइँ गर्ने परिपाटी आफूलाई मन नपरेको उनले बताइन् । अत्यधिक मदिरा सेवन गरेर होहल्ला गर्दा ग्राहकलाई व्यवस्थापन गर्न असहज भएको अर्का मदिरा होटेल संचालक मनोज श्रेष्ठले बताए । श्रेष्ठले भारतको बिहार राज्यमा रक्सीको कारोवारमा त्यहाँका राज्य सरकारले पूूर्ण रुपमा प्रतिबन्ध लगाएपछि सीमावर्ती क्षेत्रमा अवैध रक्सीको कारोवार बढेको बताए ।

बिहार सरकारले बिहारमा रक्सीको कारोवार गर्न पूर्ण प्रतिबन्ध भएको घोषणा गरेदेखि यहाँका सीमावर्ती क्षेत्रमा दिनहु भारतीयहरु आएर रक्सी सेवन गर्ने गरेका छन् । यता नयाँ वर्षको अवसरमा नेपालको विभिन्न सीमावर्ती क्षेत्रहरुमा आएका भारतीय सवारीसाधनको अत्यधिक भिड हुँदा प्रहरी लाई समेत सवारीसाधन व्यवस्थापन गर्न असहज भएको थियो । भारतीय संगै नेपाली सवारीसाधनले अत्यधिक भिड भएपनि प्रयाप्त जनशक्ति नहुदा व्यवस्थापन गर्न केहि असहज भएको सीमा क्षेत्रका प्रहरी प्रमुखहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia