२० पौष, अमर काफ्ले इनरुवा। सुनसरीका प्रमुख ६ राजनैतिक दलहरुले प्रदेश नम्वर १ को मूख्यालय सुनसरीलाई बनाउन माग गरेका छन् ।
जिल्ला स्थित रहेका प्रमुख दलका नेताहरु बिचको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो । संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै उनिहरुले नेपाल सरकारद्धारा गठित अधिकार सम्पन्न संघीय प्रशासनिक पूर्नसंरचना समितिको बैठकको निर्णय कार्यान्वयनको माग गरेका छन् ।
समितिले प्रदेश नम्वर १ को मूख्यालयकालागि सुनसरीको माप दण्ड उपयुक्त रहेको निर्णय सहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
समितिको निर्णय उल्टाउन भएको चलखेल रोक्न सुनसरीका राजनैतिक दलहरुबीच निर्णय कार्यान्वयनकालागि एकभई अघि बढ्ने सहमती जुटेको हो । सर्वदलिय बैठकले संघीय प्रशासनिक पूर्नसंरचना समितिको निर्णय उल्टाउने र अनुपयुक्त ठाउँमा प्रदेश सदरमुकाम तोक्ने तयारी प्रति सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।
दलिय बैठकले निर्णय कार्यान्वयन सँगै धरान,इटहरी र इनरुवामा प्रदेश सरकारका कार्यालयहरु राखिनुपर्ने अडान समेत राखेको छ ।
विज्ञप्तीमा नेकपा एमाले सुनसरी अध्यक्ष रमेश बस्नेत, नेपाली कांग्रेसका सभापती राजिब कोइराला, माआवादी केन्द्रका सुनसरी संयोजक सरस्वती पोखरेल, संघीय समाजवादी फोरम नेपालका सुनसरी अध्यक्ष महेन्द्रप्रसाद यादव, राजपा जिल्ला अध्यक्ष सुब्बालाल मेहता र राप्रपा प्रजातान्तिकका इन्द्रनारायण साहले हस्ताक्षर गरेका छन् ।









