फ्रान्सेली राजधानी पेरिसमा नग्न व्यक्तिहरुलाई खाना खुवाउने रेष्टुरेन्ट पहिलो पटक सञ्चालनमा आएको छ । यो रेष्टुरेन्टमा प्रवेश गर्नुअघि ग्राहकले ढोकामै सम्पूर्ण कपडा खोल्नुपर्छ । फ्रान्समा यसअघि नै सैयौँ समुद्री किनार, स्पा सेन्टर र क्याम्प साइटहरुमा नांगै बस्न अनुमति दिइएको छ । तर नोभेम्बर महिनाको सुरुमा पेरिसमा नग्न रेष्टुरेन्ट पनि खुलेको छ ।
‘ओ’नेचुरेल’ नाम दिइएको सो रेष्टुरेन्टमा एक पटकमा ४० जनालाई डिनर गर्न मिल्छ । रिजर्भेसन गराएका ग्राहकले मात्रै त्यहाँ प्रवेश पाउँछन् । र त्यहाँ डिनर मात्रै गर्न दिइन्छ । डाइनिङ रुममा प्रवेश गर्नुअघि ग्राहकलाई ढोकैमा कपडा र मोबाइल छोड्न लगाइन्छ । ग्राहकलाई रेष्टुरेन्टभित्र चप्पल लगाउन दिइन्छ । यद्यपि महिलाहरुले हिल भने लगाउन पाउँछन् ।
रेष्टुरेन्टमा ४० प्रतिशत ग्राहक महिला रहेको सञ्चालकहरुले बताएका छन् । डिनरको मूल्य ३५ डलरभन्दा माथि राखिएको छ । सो कोठालाई सडक तथा अन्य घरहरुबाट नदेखिने गरी पर्दा लगाइएको छ । ४२ वर्षका जुम्ल्याहा माइक र स्टेफेन साडाले यो रेष्टुरेन्ट खोलेका हुन् ।









