२१ पौष, अमर काफ्ले इनरुवा। प्रदेश राजधानीको माग गर्दै सुनसरीका राजनैतिक दलले प्रधानमंत्री सामू ज्ञापन पत्र पठाएका छन् । सुनसरीका प्रमुख ७ राजनैतिक दलहरुले प्रदेश नम्वर १ को मूख्यालय सुनसरीलाई बनाउन माग गर्दै सुनसरी प्रशासन मार्फत प्रधानमंत्रीको कार्यालयलाई ज्ञापन पत्र पठाएका हुन् ।
जिल्ला स्थित रहेका प्रमुख दलहरुबिच भएको सहमति अनुसार आज जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत ध्यानाकर्षण सहितको पत्र प्रधानमंत्रीको कार्यालयलाई पठाइएको हो । जिल्ला प्रशासन कार्यालय इनरुवा पुगेको जिल्लाका प्रमुख राजनैतिक दलका अध्यक्ष सहितको टोलीले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली समक्ष ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्रमा सुनसरीका राजनैतिक दलले प्रदेश नम्वर १ को राजधानी सुनसरीमै तोकिनु पर्ने अडान राखेका छन् । उनिहरुले नेपाल सरकारद्धारा गठित अधिकार सम्पन्न संघीय प्रशासनिक पूर्नसंरचना समितिको बैठकको निर्णय कार्यान्वयनको माग गरेका छन् ।
समितिले प्रदेश नम्वर १ को मूख्यालयकालागि सुनसरीको माप दण्ड उपयुक्त रहेको निर्णय सहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
निर्णय विपरित गएर प्रदेश राजधानी अन्यत्र तोकिन लागेको भन्दै सुनसरीका राजनैतिक दलले दबाब मूलक कार्यक्रम अन्र्तगत पहिलो चरणमा नेपाल सरकारसामू ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको बताएका छन् । माग सम्बोधन नहुने अवस्था आए आन्दोलनमा उत्रने उनिहरुले चेतावनी समेत दिएका छन् ।








