
अमर काफ्ले पुष ३० /जाडोलाई लक्षित गरी उपलब्ध गराइएका सरकारी राहत प्रभावकारी नभएको गुनासो बढेपछि सुनसरी प्रशासनले सर्वपक्षिय बैठक डाकी सरोकारवालाहरुलाई सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले विपद व्यवस्थापन समितिको बैठक डाकी लगत विवरण सहित वितरण गरिएका सामाग्रीबारे जानकारी गराउन स्थानीय तहलाई आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले राहत वितरण प्रभावकारी नभएको गुनासो बढेकाले स्थानीय तहमा उपलब्ध गराइएको राहत सामाग्री वितरणको लगत प्रशासनमा बुझाउन आग्रह गरे । प्रजिअ पराजुलीले राहत सामाग्री राजनैतिक आस्थाका भरमा वितरण गरिएको र थन्काएर राखिएको भन्ने जानकारी प्राप्त भएको भन्दै पीडितहरुको पहिचान गरी प्राथमिकताका आधारमा तत्काल वितरण गर्न समवन्धित निकायलाई निर्देशन समेत दिए । थप राहत माग गरेका स्थानीय तहलाई प्रशासनले उपलब्ध राहतको पार्दशिता बेगर अन्य सहयोग नदिने स्पष्ट पारेको छ ।








