२५ माघ, इनरुवा। जग्गाको नक्सा किर्ते प्रकरणमा पक्राउ परेका सुनसरी नापीका ३ जना उपर प्रहरीले अनुसन्धान अघि बढाएको छ। इनरुवा ३ मा रहेको जग्गाको नक्सा फेरबदल घटनाको अनुसन्धानको क्रममा प्रहरीले जिल्ला नापी कार्यालय सुनसरीका सर्वेक्षक हरिकान्त माझी सहित सहलेखापाल एलिजा कार्की र करारमा कार्यरत कार्यालय सहयोगी बिकास भण्डारीलाई पक्राउ गरी कार्वाही थालेको हो ।
प्रक्राउ परेकाहरु उपर जग्गा किर्ते सम्बन्धी मुद्धामा कार्वाही थालिएको सुनसरी प्रहरीले जनाएको । यसैबिच कर्मचारी पक्राउको बिरोधमा जिल्ला नापी कार्यालय सुनसरीका कर्मचारीहरुले कामकाज ठप्प पारेका छन् । आधिकारिक ट्रेड युनियन सुनसरीको नेतृत्वमा जिल्लाका क्रियाशिल निजामति कर्मचारी ट्रेड युनियनले कर्मचारी पक्राउ र कार्वाही प्रकृयाको विषयलाई लिएर काम ठप्प पारिएको जनाएको छ ।
आधिकारिक ट्रेड युनियन सुनसरीका अध्यक्ष केशव खतिवडाले घटनाको विषयलाई लिएर कर्मचारीसँग सोधखोज गरी समन्वयमा अघि बढ्नुपर्नेमा हिरासतमा लिएर अनुसन्धान थालेको भन्दै आपत्ति सहितको ज्ञापन पत्र समेत जिल्ला प्रशासन कार्यालयमा बुझाएको जनाउनुभयो ।ट्रेड युनियन सुनसरीले कर्मचारी रिहाई नगरीए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने जनाएको छ । उता सुनसरी प्रहरीले घटनाको संलग्नताको आधारमा नापी कर्मचारीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जनाएको छ ।









