मिकाइल आलम, इनरुवा । संविधान निर्माण भएपछि कानुनले तोके अनुसार सबै निर्वाचन सम्पन्न भैसकेको भन्दै अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुक अब आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । बिहीबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ को वडा कार्यालय उद्घाटन गर्न भोक्राहा आएका कार्कीले अब मुलुक आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताएका हुन । सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि निर्वाचित कार्कीले राष्ट्रिय राजनीति अब आर्थिक विकासमा केन्द्रित हुँदै मुलुक लाई समृद्धि तर्फ लान सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा बोल्दै कार्कीले भने तिनै तहको निर्वाचन सम्पन्न भैसकेको अवस्थामा अब राष्ट्रिय राजनीति आर्थिक विकासमा केन्द्रित हुनुपर्छ । सबै जनप्रतिनिधि मिलेर देश विकास कार्यमा लाग्नु पर्नेमा अर्थमन्त्री कार्कीको जोड थियो ।
४ नम्बर क्षेत्र बाट निर्वाचित गराएर केहि गर्ने अवसर दिएकोमा मतदाताहरु लाई धन्यवाद दिदै कार्कीले आफू जनताको सेवामा तत्पर रहिरहने दावी गरेका थिए । कार्यक्रममा बोल्दै उनले भने तपाईंहरुले मलाई निर्वाचित गराएर ठुलो जिम्मेवारी दिनुभएको छ, ढुक्क हुनुस तपाईंको सेवामा रहिरहने छु । अन्यको क्षेत्रको तुलनामा ४ नम्बर क्षेत्रमा बढी सम्भावना भएको बताउदै कार्कीले लौकहीमा आयुर्वेद रिसोर्ट सेन्टर निर्माणका लागि ७५ लाख तथा लौकहीमै सुविधा सम्पन्न टाउन हल निर्माणका लागि ५० करोड छुट्टयाएको बताए । साथै कार्कीले सुनसरी खोला तथा आसपासमा बर्खायाम हुने गरेको समस्या समाधान गर्न आफू लागिपरेको समेत बताए । कार्कीले साढे २ वर्षमा गरेको कामपछि मात्र मुल्यांकन गर्न आग्रह गरे ।
सोही कार्यक्रम सुनसरी २ बाट निर्वाचित सिताराम मेहताले काङ्ग्रेसको नेतृत्वमा मुलुकले संविधान पाउनु देखि शान्ति पूर्वक तिनै तहको निर्वाचन सम्पन्न गरेको भन्दै अब सबै मिलेर देशलाई आर्थिक विकास गर्ने तर्फ जुट्न आग्रह गरे । सुनसरी २ (ख) प्रदेश सभाका लागि निर्वाचित राजीव कोइरालाले नेपाली काङ्ग्रेस देश र जनताको पक्षमा काम गर्ने पार्टी भएको बताउदै अब आफूहरू जनताको सुख दुखमा सधैं साथ रहिरहने उल्लेख गरेका थिए ।








