२७ माघ, इनरुवा। सेउती खोला पुल निर्माण हुन नदिने षडयन्त्र भएको रामधुनीबासीले आरोप लगाएका छन् । सर्भे तथा माटो जाँच गरी रातो किताबमा उल्लेखित योजना अन्यत्र सार्न चलखेल भएको भन्दै सुनसरीको रामधुनी नगरपालिकाको बकलौरीबासी आन्दोलित भएका छन् ।
सुनसरीको रामधुनी नगरपालिका ७ स्थित रहेको बकलौरीको तेतरीया कुमरखतमा बनाउन तय भएको पुल धरानेहरुले आफु पायक क्षेत्रमा पार्न चलखेल थालेको भन्दै स्थानीयहरु आन्दोलित बनेका हुन् । सडक डिभिजन कार्यालयले करिब एक वर्ष अघिनै पुल बनाउने भन्दै कुमरखतमा सर्भे सम्पन्न गरेको थियो ।
स्थानीयबासीको रोहबरमा सडक डिभिजन कार्यालयले क्याम्प खडा गरी माटो जाँच सहित संरचना बारे अध्ययन प्रतिवेदन तयार पारेको थियो ।आवश्यकिय प्रकृया पुरा गरी रातो किताबमा उल्लेखित योजना अन्र्तगतको कार्य अघि बढ्नै लाग्दा दलिय आडमा योजना अन्यत्र सार्ने भैरहेको चलखेल प्रति स्थानीयबासी प्रतिवादमा उत्रिएका हुन् ।
एकसाता अघि धराने समूहले सेउती खोलाको पुल धरान १५ स्थित श्याम चोकको पूर्वमा रहेको सेउती खोलामा बनाउनु पर्ने भन्दै पत्रकार सम्मेलनगरी दबाबमूलक कार्यक्रम अघि बढाउने निर्णय गरेको थियो । पुल निर्माण हुने स्थानको विषयलाई लिएर धरान र रामधुनीको बकलौरीबासीबिच टकराबको अवस्था सीर्जना भएपछि सेउती खोला पुल निर्माणको कार्य टेण्डर प्रकृयामा जान नसकेको स्थानीयहरु बताउँछन् ।
आफुहरुको क्षेत्रमा संचालन हुन लागेको कृषि सडक योजना अन्र्तगतको १ सय २५ मिटर लामो पुल निर्माण योजना खोस्ने प्रयन्त्र भएको भन्दै स्थानीयहरुले खोला किनारमा पत्रकार सम्मेलन गरी आक्रोस पोखेका छन् । समाजसेवी गणेश गुरागाईले कुनैपनि हालतमा आफ्नो योजना अन्यत्र लैजान नदिने बताए ।
सबै प्रकृया पुराभै डिजिकन निर्माण कम्पनीले पुल निर्माणकालागि माटो परिक्षण समेत गरिसकेको अवस्थामा एकाएक निर्णय बदल्न खोज्नु बलनियतपूर्ण कार्य भएको स्थानीयको आरोप छ । आफ्नो क्षेत्रको योजना धरान लगिए संघर्षमा उत्रिने रामधुनी वडा नम्वर ७ का वडाध्यक्ष समेत रहनुभएका संघर्ष समितिका संयोजक केशब गौतमले चेतावनी समेत दिए ।
कुमरखत तेतरियामा बन्न लागेको सेउती खोलाको पुल कानुन संगत रातो किताबमा उल्लेख भएबमोजिमनै बन्नु पर्ने रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीको भनाई छ । नियम संगत प्रकृयामा रहेर पुल निर्माणको कार्य अघि बढ्नेमा आफु विश्वस्त रहेको बताउने प्रमुख चौधरीले आवश्यकता परे सडक डिभिजन सहित मन्त्रालयसम्मै पुगेर नगरवासी धर्नामा उत्रिने बताए । सेउती खोला पुल निर्माण योजना रातो किताबमा स्पष्ट रुपमा सेउती खोला पुल बकलौरी वडा नम्वर साविक २ तेतरिया , धरान उपमहानगरपालिका जोड्ने बाटो उल्लेख छ ।









