
फागुन ५ इनरुवा /बुहारी नामसँगै जोडिने चुलो चौकोको परिभाषा परिस्कृत सामाजिक परिपाटीसँगै परिवर्तित बन्दै गएको छ । छोरी सरहको व्यवहार मात्रै नभएर बुहारीमाथि हेर्ने पुरातनवादी दृष्टिकोणमा समेत क्रमश सामाजिक बन्देजहरु हट्दै गएका छन् ।
यतिमात्र नभएर सुनसरीको इनरुवाका बुहारीहरु सांगठनिक रुपमै अघि बढ्न थालेका छन् । समाज रुपान्तरणको मूलभुत उद्येश्यसाथ कुभिण्डेली पोखरेलका बिहारीहरुले बुहारी समाजनै गठन गरेका छन् । बुहारीहरु महिनामा एक पटक पालैपाले सबै एकैठाउँ भेला हुने गरेकाछन् । सीमित सहभागिताबाट अघि बढेको समूहमा तीन दर्जनको हाराहारीमा बुहारीहरु सम्मिलित भैसकेकाछन् । बुहारी समाजकी अध्यक्ष कबिता पोखरेल समाज रुपान्तरणसँगै समूदायमा बुहारीको पहिचान र दायित्व थप मजबुतिकालागि समूहमा आवद्ध भएको बताउनुहुन्छ ।
समाजकी सचिव ताराले पोखरेल बुहारी समाज नविन र उदाहरणीय बन्ने दाबी गर्नु भयो । आलोपालो गरी एकैठाउँ भेला हुनेगरेका बुहारीहरुले घरब्यवहारका साथै व्यवहारिक कठिनाई जस्ता विषयमा आपसमा सरसल्लाह बाँड्ने गरेका छन् । सुरुवातमा व्यवहारिक कठिनाईको अवस्था झेल्नुपरेपनि समूहप्रति समाजमा विश्वास बढ्न थालेसँगै अन्य समूदायको समेत आर्कषण बढ्न थालेको सचिब तारा पोखरेलको भनाई छ ।
बुहारी समाजमा आवद्ध प्रमिला पोखरेलले समूहमा रहेर आयआर्जन सहित सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत पहलकदमी अघि बढाउने गरी तयारी थालिएको जानकारी दिनुभयो ।









