१२ फागुन, औरावनी। सुनसरीको गढी गाउँपालिकाले गुणस्तरीय शिक्षा सहित शैक्षिक स्तर सुधारकालागि अभियानका रुपमा विशेष कार्यक्रम संचालनमा ल्याउने भएको छ । गाउँपालिकाको कार्यालयले शिक्षा क्षेत्र सुधारलाई पहिलो प्राथमिकतामा राखेर शिक्षित समाजको परिकल्पना अनुरुपको अभियान संचालनमा ल्याउन लागेको हो ।

गाउँपालिकाले शिक्षा क्षेत्रको वृद्धि बिकासकालागि कुल बजेटको २५ प्रतिशत रकम अर्थात करिव ७ करोड रकम छुट्याएको छ । व्यक्तित्व निर्माणसँगै राष्ट्रको समृद्धिकालागि समेत शिक्षा अनिवार्य भएकाले सोही कुरालाई मनन गर्दै स्थानीय तहको शिक्षालाई नमूना बनाउने अभियानमा जुटेको गढी गाउँपालिकाको कार्यालय औराबनीले जनाएको छ । विद्यालयमा हुने विद्यार्थीको न्यून उपस्थिती सँगै विद्यालय छाड्ने परिपाटी रोक्दै गुणस्तरीय शिक्षाको प्रत्याभूतिकालागि अभियान सार्थक हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव कुमार निरौलाले बताउनुभयो ।


गाउँपालिकाको कार्यालयले मातहतमा रहेका सबै सामूदायिक विद्यालयका प्रअ सहित शिक्षक लगायतको भेला डाकी शैक्षिक गुणस्तर अभिवृद्धिको अभियान सुरुवात समेत गरेको छ ।  गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले स्थानीय तहको पहिलो प्राथमिकतामा रहेको शिक्षामा उल्लेख्य बजेट छुट्याइएकाले विश्वसनीय सहितको गुणस्तरीय शिक्षामा कोहीकसैसँग सम्झौता नगरिने बताउनुभयो । अध्यक्ष यादवले तत्कालैबाट गुणस्तरीय शिक्षाको प्रत्याभूति हुनेगरी कार्य थाल्न निर्देशन समेत दिनुभएको छ ।

गढी गाउँपालिकामा ४ माबि सहित २४ सामूदायिक विद्यालय छन् । गाउँपालिकाले बालबिकास केन्द्र देखिनै शिक्षा सुधार नीति अघि बढाउने तयारी थालेको गाउँपालिका उपाध्यक्ष राजकुमारी चौधरीले जानकारी दिनुभयो । गाउँपालिकाको कार्यालयले शिक्षकहरुको क्षमता अभिवृद्धिसँगै उनिहरुको हकहीतको विषयलाई समेत सम्बोधन हुने गरी स्थानीय तह मार्फत बन्दोवस्ती मिलाइने प्रतिवद्धता समेत जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia