१५ फागुन, इनरुवा। लामो समयको प्रतिक्षा पश्चात सुनसरी आजबाट साक्षर जिल्लाका रुपमा घोषित भएको छ । सरोकारवालाहरुले यसअघिनै जिल्लालाई साक्षर घोषणा गर्ने जमर्को गरेको भएपनि करिब एक वर्षपछि मात्रै साक्षर जिल्ला अभियानले सार्थकता पाएको छ । लामो प्रयासका बाबजुत सुनसरी औपचारिक रुपमा साक्षर जिल्ला बनेको छ । प्रदेश नम्बर एकका मूख्य मंत्री शेरधन राईको औपचारिक घोषणासँगै सुनसरी मुलुकको हाल कायम रहेको ७७ मध्ये ४५औं साक्षर जिल्ला बन्न पुगेको छ ।
सुनसरी २ उपमहानगरपालिका सहित ४ नगरपालिका र ६ गाउँपालिका रहेको छ । ७ लाख ६३ हजार ४ सय ७ जनसंख्या रहेको सुनसरीमा शैक्षिक सत्र ०७३ ÷७४ मा आइपुग्दा १५ देखि ६० वर्ष उमेर समूहको १ लाख १७ हजार ४ सय २ व्यक्ति साक्षर भएको प्रतिवेदन जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले घोषणा सभामा प्रस्तुत गरेका थिए ।
साक्षरता जिल्ला घोषणकालागि सरकारी मापदण्ड ९५ दशमलव हुनुपर्ने हुन्छ । साक्षरता प्रतिशत ९५ दशमलव ५० लाई आधार मानेर प्रदेश एकका मूख्य मंत्री शेरधन राइले कार्यक्रमकाबीच सुनसरी साक्षर जिल्ला भएको घोषणा गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मूख्य मंत्री राईले प्रदेश एक मानव विकास सूचकाङ्कमा पहिलो स्थानमा पर्ने विश्वास व्यक्त गर्नु भयो । पर्यटन, बिकास र प्रचुर सम्भाव्यताको खानी रहेको एक नम्वर प्रदेशलाई मुलुककै नमूना बनाउन प्रदेश सरकार कटिबद्ध भै लागिपरेको मूख्य मंत्री राईले बताउनुभयो । घोषणा सभा पूर्व जिल्ला शिक्षा कार्यालय सुनसरी हातामा निर्माण गरिएको साक्षर स्तम्भ अनावरण गरिएको थियो । मूख्य मंत्री राईले साक्षर स्तम्भ अनावरण गर्नु भएको थियो । इनरुवाको भगवती माविको मैदानमा आयोजित साक्षर जिल्लाा घोषणा कार्यक्रममा प्रदेश एकका सभामुख, उपसभामूख सहित मंत्री लगायतको उपस्थिती रहेको थियो ।










