इनरुवा । समाजमा विकृतिको रूपमा फैलिएको दाइजो प्रथा अन्त्य हुनुपर्नेमा सुनसरीका मुस्लिम समुदायले जोड दिएका छन् । शनिबार सुनसरीको कोशी गाउँपालीका स्थित नहर चौकमा आयोजित समाज सुधारक विषयका कार्यक्रममा बोल्दै उनीहरूले समाजमा प्रमुख समस्याको रूपमा रहेको दाइजो प्रथा सदाका लागि अन्त्य हुनुपर्नेमा जोड दिएका हुन ।
ईस्लामिक संघ कोशी जोनले आयोजना गरेको सो कार्यक्रम एक नम्बर प्रदेशका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री कुसियैतले विकास र समृद्धिको लागि सबै समुदायको साथ र सहयोग अपरिहार्य रहेको उल्लेख गरेका थिए । कोशी टप्पु वन्यजन्तु आरक्ष एक नम्बर प्रदेशकै मुख्य पर्यटन क्षेत्र मध्येको एक भएको बताउदै मन्त्री कुसियैतले आरक्षलाई पर्यटन क्षेत्रको रूपमा विस्तार गर्न आफू लागिपरेको बताए ।
काठमाडौं, बिराटनगर,जनकपुर,भारतका विभिन्न स्थानका गरि पाँच हजार बढीको उपस्तिथि रहेको सो कार्यक्रममा बोल्ने मुस्लिम अतिथिहरुले दाइजो,भ्रष्टाचार र ऋणले धनीलाई थप धनी र गरिब लाई थप गरिब बनाउने गरेको बताउदै समाजमा प्रचलित यस्ता विकृति हटाउन सबै एकजुट भएर लाग्नु आवश्यक भएकोमा जोड दिएका थिए । ईस्लामिक संघद्वारा आयोजित कार्यक्रममा विभिन्न मदरसामा अध्ययनरत विद्यार्थीहरुले तकरिर,नज्म,नाटक लगायतको माध्यम बाट दाइजो,भ्रष्टाचार,ऋणबाट समाजमा विकराल समस्याहरु देखाउदै त्यसबाट कसरी बच्न सकिन्छ भन्ने उपाय समेत प्रस्तुत गरेका थिए ।
अबदुल वासे उपरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी,वडा नम्बर ३ का अध्यक्ष सुलेमान मन्सुरी,ईस्लामिक संघ नेपालका अध्यक्ष खुर्सिद इस्लाही,मौलाना वासिक,मौलाना मुस्तकिम,सलमुद्दिन,कारी मुक्ति अजहर,सहाउद्दिन अन्सारी,सहाबुद्दिन इस्लाही लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उत्कृष्ट तकरिर,नज्म तथा प्रस्तुत गर्ने विद्यार्थीहरु लाई पुरस्कृत समेत गरिएको आयोजक समितिका शमसाद अन्सारीले बताए ।










