इटहरी । जिल्ला समन्वय समिति मार्फत लगाइएको ठेक्कामा तोकिएको भन्दा बढी शुल्क उठाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले सुनसरी र मोरङ सिमामा पर्ने बुढी खोला नजिको ढाँटबाट बिहिबार साझ राममणी पोखरेल र सन्तोष हलुवाईलाई पक्राउ गरेको हो । उनिहरुले सुनसरी र मोरङमा संञ्चालित चौपाय र कृषि ठेक्का मार्फत दोब्बर शुल्क उठाएका थिए । प्रहरीले उनिहरुलाई रसिदको ठेली सहित पक्राउ गरेको हो ।
यसरी उठाइन्छ दोब्बर शुल्क
सुनसरीका अधिकाशं ढाँटहरुले मनपरी शुल्क लिने गरेका छन । जिप र ट्रकमा लोड गरि ल्याएका कृषि सामाग्रीहरु चामल, दाल, गहु लगायतका सामाग्रीबाट ढाँटमा बस्नेहरुले आयात र निर्यातमा मनपरी शुल्क उठाउने गर्छन । कृषिको कुनै बस्तु प्रति केजि ५ देखि १० पैसा लिने नियम छ । तर ठाँटमा बस्ने कर्मचारीहरुले जबरजस्ती प्रति केजि ३ रुपयौ सम्म लिने गरेका छन ।
यस्तै चौपायको ठेक्कामा पनि मनपरी शुल्क लिने गरिएको छ । इटहरीको बुढी नजिक रहेको ढाँटले मोरङको समेत चौपायको शुल्क उठाउने गरिएको छ । गोटागन्ती हिसाले बिलरसिद सहित शुल्क काट्नु पर्ने नियम भएपनि सो ढाँटले एक ट्रकको १५ सयदेखि २५ सयसम्म मनपरी शुल्क लिने गरेको छ । चौपायको हकमा साना सबारीमा रहेका प्रति चौपाय (सुगुर, बाख्रा आदी) को ६० रुपयौ देखि ठुला सबारीमा रहेका (रागा, गाई, गोरु) आदीको दुईसय रुपयौ सम्म शुल्क लिने गर्दछन ।
सोही ढाँट मार्फत प्रतिदिन १२ देखि १५ वटा साना र ठुला सबारीको मनपरी शुल्क उठ्दै आएको छ । शुल्क काट्दा जिल्ला समन्वय समितिले उपलब्ध गराउने बिल नै प्रयोग गरेको पाइदैन ।साथै तोकिएको शुल्क भन्दा बढी रकम असुल्ने ढाँटका कर्मचारीको बिरोध गर्दा धेरै सबारी चालक तथा कृषि चौपायका ठेकेदारहरुले कुटाई खाने समेत गरेका छन । पक्राउ परेका ढाँटका कर्मचारी छुटाउन ठेकेदारहरुले प्रहरी र प्रसासनलाई दबाब दिइरहेको स्रोतले बताएको छ ।
बढी शुल्क उठाउने गरेको बिषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतिले त्यस्ता व्यक्तिहरुलाई कडा कारबार्ही गर्ने बताए । कानुन र नियम अनुसार सम्झौता भएको दररेट भन्दा बढी शुल्क उठाउने सबै ढाँटलाई कारबार्हीको दायरामा ल्याउने र अनुगमन गर्ने उनले बताए । गुण्डागर्दी हिसाबले चल्ने र नियम नमान्ने हर कोही ठेकेदार र त्यस्का कर्मचारीलाई निगरानी गर्ने समेत प्रजिअ उप्रेतिको भनाई छ ।










