
इनरुवा १७/इनरुवा नगरपालिका ६ भोटेपुल नजिक संचालनमा रहेको क्रसर उद्योग हटाउन स्थानीयले माग गरेका छन् ।
गिटी पकाउने क्रममा निस्कने हानिकारक कण सहितको धुलो, धुवाँ र अलकत्राको दुर्गन्धले स्वास्थ्य समस्या बढाएको भन्दै स्थानीयहरु आन्दोलित बनेका हुन् ।
राजमार्ग किनारमा स्वच्छन्द आरके निर्माण प्रालिले राखेको स्पार्क मेसिन एक वर्षयता संचालनमा छ । सडक निर्माण सामाग्री तयार पार्ने कार्यले राखिएको मेसिन मापदण्ड विपरित सञ्चालनमा रहेको भन्दै स्थानीयहले सो उद्योग तत्काल हटाउन माग गरेका हुन् ।
सडक बाटोको काम गर्न भनी केहि समयकालागि स्थापना गरिएको उक्त उद्योग लामो समय बित्दा समेत नहटाइएकाले त्यसबाट निस्कने धुलो र धुवाँले बालबच्चामा निमोनिया र बृद्धबृद्धामा स्वासप्रस्वास जस्ता समस्या बढाएको स्थानीयहरुको भनाई छ ।
स्थानीय पीडितले सो आशयको पत्र वडा कार्यालयमा समेत बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीको समेत ध्यानाकर्षण गराइएको भएपनि कुनै पहल नभएको पुष्कल बुढाथोकीले बताए ।
प्रशासनबाट चित्तबुझ्दो जवाफको अपेक्षा गरेपनि आफुहरुले रुखो व्यवहारको सामना गर्नु परेको पीडितहरुको गुनासो छ । स्थानीय पीडित लक्ष्मण प्रधानले प्रशासनले मानवीय स्वास्थ्य सम्वेदनशीलताबारे चासो नदिएको बताए ।
स्वच्छन्द आरके निर्माण सेवा विरुद्ध अघिल्लो वर्ष अघि समेत स्थानीयहरुले तत्कालिन जिविसका साथै प्रशासन कार्यालयमा उजुरी गरेका थिए ।
उजुरी उपर दुवै पक्षको उपस्थितीमा भएको बैठकले तत्काल उद्योग बन्द गरिनु पर्ने निर्णय सहित संचालन गर्नै परे स्थानीयको मञ्जुरी लिई मापदण्ड बमोजिम संचालन गर्नुपर्ने भनि निर्णय गरेको थियो ।
उद्योगले उक्त निर्णय कार्यान्वयन नगरी मनोमानी तवरले मावन स्वास्थ्यमा खेलबाड गर्ने काम गरिरहेको स्थानीयहरुको आरोप छ ।
उद्योग आसपासको क्षेत्रमा सिङगो सुकुम्बासी वस्ती रहेको छ । सुकुम्बासी बस्तीसँगै अन्यको समेत बसोवास रहेको सो स्थानका पीडितहरु बुधवार दिउँसो उद्योग विरुद्ध उजुरी लिएर सुनसरी प्रशासनमा पुगेका थिए ।
प्रशासनले भने बिकास निर्माणमा बाधा पुग्ने भएकाले तत्काल उद्योग बन्द गराउन सक्ने अवस्था नरहेको जनाउँदै विज्ञ सहितको टोली राखी छलफल थाल्ने जवाफ दिएको छ ।
उता आरके निर्माण प्रालिका संचालक सन्तकुमार मेहताले आफुले नियम कानुनकोे परिधिमा रही मापदण्ड अनुरुपनै कार्य सञ्चालन जारी राखेको प्रतिकृया दिएका छन् । स्थानीयको आरोपलाई निराधार बताउने मेहताले स्थानीयवासीले बिकास निर्माणको काममा बाधा उत्पन्न गराउन खोजेको बताए ।
यता सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले उद्योग विरुद्ध उत्रिएका स्थानीयको निवेदन उपर सबै पक्षको भेला डाकी छलफल पश्चात आवश्यक कदम चालिने बताएका छन् ।








