इनरुवा जेठ १९/ समाजमा अझैपनि महिनावारीको प्राकृतिक प्रकृयालाई नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ। उमेरको वृद्धिविकाससँगै देखापर्ने नियमित रजश्वलाको समय चक्र निश्चित समय पश्चात किशोरी तथा महिलाहरुमा देखा पर्ने गर्छ। सामान्यतया चलनचल्तीको भाषामा नछुने भएको मानिने उक्त चार दिनको अवधीलाई अभिभावकिय चेतनाको स्तरसँगै भिन्नाभिन्नै तवरमा लिने र बुझ्ने गरिएको छ ।
विशेष गरी सो अवधीमा आफ्नो स्वास्थ्यको सरसफाई र पोषिलो खानपिनमा ध्यान दिनुपर्ने हुन्छ । चेतना अभावका कारण हुने संक्रमणबाट जोगिन सेनेटरी प्याड प्रयोगको परिपाटी अझैपनि विपन्न समूदायका किशोरीहरुमा बसेको पाइदैन् ।खुल्ला चेतना अभिवृद्धि सहित प्याडको प्रयोग बढाउन विद्यालय उमेर समूहका किशोरीहरुमा प्रोत्साहनकालागि इनरुवा सहित आसपासको क्षेत्रमा केहि समययता युवा समूहनै लागिपरेको छ ।

विद्यालय तथा समूदायमा पुगेर रजश्वला अर्थात महिनावारी सम्वन्धि चेतनासँगै प्याड प्रयोग बारे अभिमूखिकरण गराउँदै आएको इनरुवा युनाइटेड नामक युवाहरुको पहलमा आमा समूहका अभिभावकको समेत साथ मिलेको छ ।युवा र अभिभावक दुवैले विद्यालयमा पुगी सचेतनासँगै प्याड प्रयोगको फाइदा र पिरियड अवधीको बारेमा जानकारी गराउनुकासाथै निःशुल्क प्याड वितरणको क्रमलाई अघि बढाएका छन् ।

भगवती माविमा किशोरी छात्राहरुलाई प्याडको प्रयोग र महिनावारीको बारेमा जानकारी सहित एक सय बढी छात्रालाई प्याड वितरण गरिएको इनरुवा युनाईटेडका संयोजक निश्चल शर्माले बताए ।युवा अभियानसँगैको सहकार्यमा जुटेको जनजागरण महिला समाज परिवार इनरुवाकी अध्यक्ष चित्रा सुवेदीले महिनावारी प्राकृतिक र नियमित प्रकृया भएकाले लजाउने परिपाटीको अनत्यसँगै सामाजिक पुरातनवादी सोचमा बदलाबसँगै समयसँगै खुलेस बहस गर्न आवश्यक रहेको धारणा राख्नुभयो । सुवेदीले कार्यक्रमलाई क्रमश अन्यत्र समेत विस्तार गरिने बताउनुभयो ।उता इनरुवा युनाइटेडका संयोजक शर्माले अभियानको सुरुवातताका निकै कठिनाईको सामना गर्नुपरेपनि हालको अवस्था भने फेरिएको बताए । अभियानले धेरैजसोमा चेतना अभिवृद्धि गराएको र विपन्न तथा किशोरीहरुकालागि प्याड वितरणमा सहयोग समेत बढ्न थालेको बताए ।









