
राजविराज। श्री एयरलायन्सले राजविराजमा कार्यालय खोली राजविराज बिमानस्थलबाट नियमित उडान भर्ने तयारी गरेको छ । श्री एयरलायन्सका प्रतिनिधीहरुले राजविराजमा संचारकर्मीहरुसँग कुरा गर्दै असार १ गतेदेखि नियमित उडान भर्ने तयारी रहेको बताउनुभयो । राजविराजस्थित जिल्ला समन्वय समितिको अगाडि मुल सडक मै श्री एयरलायन्सको कार्यालय स्थापना भइरहेको जानकारी गराउनुभयो ।
हामी जसरी पनि असार १ गतेदेखि विमानस्थलबाट जहाज उडोस् भन्न चाहन्छौं । त्यसका लागि हामी तत्पर छौं, एयरलायन्सका सौरभ ओझाले जानकारी गराउनुभयो ।
प्रत्येक दिन उडान भर्ने तयारी छ । शुरुमा यात्रुको समस्या भएपनि हाम्रो उडान नियमित हुने ओझाले बताउनुभयो । उहाका अनुसार काठमाडौंबाट १२ः३० बजे उडेर जहाज राजविराज आउने र यहाँबाट १ः२० बजे काठमाडौंका लागि प्रस्थान गर्नेछ । राजविराजबाट काठमाडौं पुग्न २५ मिनेट मात्र लाग्नेछ । शुरुमा ५० सिटे जहाज उडने र यात्रु बढ्न थालेपछि ७० सिटे जहाज उडाइने श्री एयरले जनाएको छ ।
यता श्री एयरलायन्सका कर्मचारीहरुले जहाज उडाउन तयारी अवस्थामा भएपनि विमानस्थलभित्र काम सुस्त गतिमा भइरहेको बताएका छन् । ‘बिमानस्थलभित्रको डिर्पाचर कक्ष निर्माण सुस्त गतिमा भइरहेको छ’ एयरलायन्सका अर्का कर्मचारी सुजन बिष्टले भन्नुभयो– ‘यात्रु प्रतिक्षालय कहिले बन्ने अतोपतो छैन ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी पनि खटाएको छैन । टावरमा जडान गरिने संचार सेटहरु पनि जडान हुन नसकेको उहाले बताउनुभयो । ‘उपकरणहरु आइसकेको भनेर सुनेको छु तर, जडान गरिएको छैन’ विष्टले भन्नभयो । भीआइपी कक्षहरु निर्माण हुन शुरु भएपनि जेठ मसान्तभित्र सम्पन्न हुनेमा आशंका रहेको भन्दै विमानस्थलभित्र प्रवेश गरेपछि डिर्पाचर कक्षतिर नगई सिधैं रनवेमा समेत पुग्न सकिने अवस्था रहेको बताउँदै तारको जाली लगाउँदै सुरक्षाको व्यवस्था पनि मिलाउनुपर्ने अवस्था विमानस्थलमा देखिन्छ । यसबाहेक ठेकेदार कम्पनीहरुले विमानस्थलभित्रै थुपारिएको निर्माण सामग्री अझै हटाएको छैन । यी समस्याहरु जेठ मसान्तभित्र समाधान भए असार १ गतेदेखि नै जहाज उडने बताउँदै श्री एयरलायन्सका कर्मचारीहरुले भने यदि यसमा ढिलाई भए जहाज पनि सोही अनुसार उड्ने संकेत गर्नुभयो ।








