इनरुवा । इनरुवा नगरपालिका वडा नम्बर ८ डुम्रहा खुला दिशा मुक्त क्षेत्र घोषित भएको छ । सोमबार पूर्व अर्थमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच साविकको डुम्रहा गाविस खुला दिशामुक्त क्षेत्र घोषित भएको हो ।
उक्त खुला दिशा मुक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्र कार्कीले खुला दिशा मुक्त क्षेत्र घोषणा गरेर मात्र नहुने भन्दै यसलाई व्यवहारमा लागू गर्न सुझाव दिए । सुनसरी क्षेत्र नम्बर ४ का जनताले आफूलाई विश्वास गरेर जिताएको स्मरण गर्दै नेता कार्कीले चुनावको बेला गरेको प्रतिबद्धता पूरा गर्न आफू लागिपरेको बताए ।
कार्यक्रममा सुनसरी २ बाट प्रतिनिधि सभाका लागि निर्वाचित सिताराम मेहता, इनरुवा नगरपालिकाका मेयर राजन मेहता,लगायतकाले बोलेका थिए । साविकको डुम्रहा गाविस र हालको इनरुवा नगरपालिका वडा नम्बर ८ खुला दिशा मुक्त घोषणा भए संगै अनौपचारिक रूपमा सुनसरी जिल्ला खुला दिशा मुक्त क्षेत्र बनेको छ । साविकको ४८ वटै गाविस यसअघि नै खुला दिशामुक्त घोषित भैसकेका छन् ।
इनरुवा नगरपालिका ८ का अध्यक्ष रवीन्द्र मण्डलको अध्यक्षतामा सम्पन्न भएको खुला दिशामुक्त कार्यक्रममा सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि निर्वाचित सिताराम मेहता, इनरुवा नगरपालिकाका मेयर राजन मेहता, धिरज भट्टराई, सुनोज निरौला,जनप्रतिनिधि,सरोकारवाला,समाजसेवी,बुद्धिजीवी,सुरक्षाकर्मी,कलाकार,लगायतको उपस्थिति रहेको थियो । खुला दिशा मुक्त क्षेत्र घोषणा गर्न सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरु लाई सम्मान समेत गरिएको थियोे ।










