लौकही। कोशी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले आर्थिक वर्ष ०७५/७६ का लागि नीति तथा कार्यक्रमसहित ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको हो ।जनताको आयस्रोत बृद्धि, खाद्य सुरक्षा, स्वास्च्छ खानेपानी, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास र सुशासनलाई मुख्य आधार मानेर सञ्चित कोषबाट आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष अन्सारीले बताए ।
गाउँपालिकाले आन्तरिक श्रोतबाट १ करोड, संघीय सरकारबाट प्राप्त अनुदान तर्फ वित्तीय समानीकरण अनुदानबाट १३ करोड ४७ हजार , सशर्त अनुदानबाट ९ करोड ८७ लाख, राजस्व बाट १ लाख १० हजार, अन्य आयबाट २० हजार सहित आन्तरिक तर्फ ८० लाख ७० हजार, संञ्चित कोष तर्फ १ करोड २० लाख, वित्तिय सामाजिकरण तर्फ १२ करोड १५ लाख, राजश्व बाँडफाँडबाट ८ करोड ४१ लाख,समाजिक सुरक्षा सशर्त ४ करोड ५० लाख, प्रदेशबाट अनुदान प्राप्त ३७ लाख ८७ हजार, सवारी साधन करको बाँडफाँडबाट ५० लाख ७० गरी बजेट ल्याएको छ । गाउँपालिकाले आर्थिक वर्षलाई लगानी मैत्री वातावरण निर्माण गर्दै खानेपानी, पर्यटन, कृषिलाई जोड दिएर नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । गाउँपालिकाले चालुतर्फ २२ करोड ६ लाख ७८ हजार रुपैयाँ र पुँजीगततर्फ १७ करोड ४७ लाख ७८ हजार रुपैयाँ छुट्याएको छ ।
गाउँपालिकाले सबै नागरिकसम्म खानेपानीको पहुँच पुर्याउन नीति लिएको छ । कोशी गाउँपालिकाले कम्तीमा १५ शैयाको अस्पताल स्थापन गर्न पहल गर्ने,आयुर्वेदिक रिसर्च सेन्टरलाई तत्काल संचालनमा ल्याउने,हरेक वडामा प्रहरी चौकी स्थापना,दाइजो र बालविवाह न्यूनीकरण,महिला क्षमता विकास कार्यक्रम,युवालाई लागूऔषध बाट टाढा राख्न खेलकुद विकासको निति लिएको छ ।पूर्वाधार विकास तर्फ प्रत्येक वडालाई राजमार्गसंग कालोपत्र सडकले जोड्ने,आर्थिक वर्ष २०७६/०७७ सम्म गाउँपालीकाका सबै वडालाई समेटिने रिङ्ग रोड महत्वाकांक्षी निति लिएको छ । यस्तै सिचाइ पूर्वाधार नपुगेको बाढी प्रभावित क्षेत्रमा स्टेड वोरिङको माध्यमबाट सिचाइ सुविधा पुर्याउने,गाउँपालीकाको आफ्नै भवन निर्माणको थालनी गर्ने निति समेटिएको छ ।
यसैगरी आर्थिक विकास तर्फ कृषि पेशामा रहेको ओभर जनशक्तिलाई अन्य पेशामा आबद्ध हुन प्रोत्साहित गर्ने,माछापालन पेशा आवद्ध युवालाई विशेष प्रोत्साहन दिने,पर्यटन विकासका लागि स्थानीयलाई क्षमता विकासमा जोड दिने,गाउँपालीका भित्र उद्योग व्यवसाय संचालन गर्ने इच्छुक लाई १० वर्षसम्म कर छुटको व्यवस्था गर्ने,गाउँ घरमा गरिब किसान र साहुहरुबीच चर्को ब्याजदरमा हुने लेनदेन निरुत्साहित गर्ने लगायत निति कोसी गाउँपालीकाले लिएको छ ।कार्यक्रम बोल्दै प्रमुख अतिथि प्रदेश नम्बर १ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियैतले पर्यटनको माध्यमबाट गाउँपालीकालाई आत्मनिर्भर बनाउन आफू लागि परेको बताउदै कोशी टप्पु क्षेत्रमा पूर्वाधारको विकासमा जोड दिएका थिए ।









