इनरुवा। पूर्वि भेगमा २ दिनयताको वर्षासँगै सप्तकोशी नदीको वहावमा उतार चढाव हुने क्रम जारी छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको वहाव १ लाख ६ हजार ७ सय ९० क्युसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका १६ वटा ढोका खोलिएका छन् ।
सप्तकोशी नदीको जलस्तरमा उतार चढावको क्रम जारी रहेपनि अघिल्लो दिनको तुलनामा नदीको वहावमा कमी आएको छ । एक लाख ३१ हजार क्युसेक पुगेको नदीको बहाव क्रमश घट्दो क्रममा रहेको छ ।
पूर्वि पहाडी सहितका भेगमा अविरल वर्षा भएको खण्डमा कोशी नदीमा पानीको सतह बढ्ने गर्छ । मौसम विभागले जलस्तर बढ्न सक्ने भन्दै नदी किनारमा रहेकाहरुलाई सर्तक रहन अपिल गरेको भएपनि सुनसरी प्रशासनले सप्तकोशी नदीमा हालसम्म कुनै खतरा भने नरहेको जनाएको छ ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले कोशीका सबै तटबन्ध सुरक्षित रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको बताए ।नदीमा पानीको सतह स्थिर रहेको र नियमित अनुगमन समेत जारी रहेकाले कोशी नदीमा कुनै खतरा नरहेको भण्डारीले स्पष्ट पारे ।
सुनसरी प्रशासनले सप्तकोशी नदीको वहावको विषयमा हुने अफवाहको पछी नलाग्न सर्वसाधारणमा आग्रह समेत गरेको छ । भ्रम सीर्जना गराउने कार्यमा संलग्न रहेको पाइए सम्वन्धित व्यक्ति उपर कानुनी कार्वाहीको प्रकृया अघि बढाइने जनाएको सुनसरी प्रशासनले सर्वसाधारणमा वास्तविक सूचनाको मात्र विश्वास गर्न आग्रह गरेको छ ।








