इनरुवा। सप्तकोशी नदीमा पानीको वहाव स्थिर रहेको छ । पूर्वी भेगमा तीन दिनयता वर्षा जारी रहेपनि पानीको वहाव सामान्य अवस्थामा रहेको छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको वहाव १ लाख २३ हजार ८ सय ५ क्युसेक प्रतिसेकेण्ड रहेको छ भने ब्यारेजका २० ढोका खोलिएका छन् ।
नदीको वहावमा उतारचढाव जारी रहेपनि खतरा भने नरहेको सुनसरी प्रशासनले जनाएको छ । वर्षायाममा सँधैजसो कटान लाग्ने गरेको राजाबास क्षेत्रमा रहेको तटबन्धमा आवश्यकता परेको खण्डमा बालुवा सहितको बोरा हाल्ने गरी तयारी गरिएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीका अनुसार कोशीका सबै तटबन्ध सुरक्षित छन् । नियमित अनुगमन र पूर्व तयारी गरिएकाले आत्तिनु पर्ने अवस्था नरहेको प्रजिअ उप्रेतीको भनाई छ । सुनसरीमा लगातारको वर्षाका कारण खोलानालामा जलस्तर बढेपनी कटान भने भएको छैन् । सुनसरी प्रहरीका अनुसार जिल्लामा घर डुबानमा परेको र उद्धार गर्नु पर्ने अवस्था हाल सम्म रहेको छैन् ।








