इनरुवा । ३६औं विपी स्मृति दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवा सहितका स्थानमा विविध कार्यक्रमको आयोजना गरिएका छन् ।इनरुवा ७ चाँदबेलामा अवस्थित सीता घाटमा एकाविहानै वृक्षारोपण गरि दिवस मनाइएको छ । सीताघाट मूल समितिले आयोजना गरेको कार्यक्रममा प्रदेश नम्वर एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला लगायतको उपस्थिती रहेको थियो ।
कोइराला सहित जिसस सुनसरी सभापति गोपालराज भण्डारी लगायतको बाँझो जमिनमा वृक्षारोपणको शुभारम्भ गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका पाटी सचिव केदार भण्डारी, कोषाध्यक्ष पंकज भगत, वडा नम्वर ७ का अध्यक्ष किशोर सिङ लगायत पाटीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
गडन खोला किनारमा निर्माणाधिन अवस्थामा रहेको घाटलाई लक्षित गरी ३ विगाह क्षेत्रफलमा टिक र मसला लगायत प्रजातिका ३२ सय विरुवा रोपिने काँग्रेसका युवा नेता अच्युत भण्डारीले जानकारी दिए ।
त्यसैगरी दिवसको अवसरमा इनरुवा अस्पतालमा विरामीहरुलाई फलफूल वितरण गरिएको छ । नगरप्रमुख राजन मेहता लगायतको उपस्थितीमा फलफूल वितरण गरिएको थियो । त्यसैगरी दिवसका अवसरमा रामधुनीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने देवानगन्जमा समेत वृक्षारोपण गरिएको छ ।मुलुकमा प्रजातन्त्र स्थापनकालागि आजिवन संघर्ष गरेका नेता विपी कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।विपीको सिद्धान्त र विचारलाई स्मरण गर्दै नेपाली कांग्रेसले प्रत्येक वर्ष स्मृति दिवसमा विविध कार्यक्रम गर्दै आएको छ ।










