इनरुवा, भदौं ८ । सुनसरीको गढी गाउँपालिकाको न्यायिक समितिमा सबै भन्दा बढी जग्गा सम्बन्धि मुद्धा आएको छ । जिल्ला सदरमुकाम इनरुवासंग टासिएको गढी गाउँपालिकाको विभिन्न वार्डमा जग्गा किचोला, अशं र जग्गा मिचेको सबै भन्दा बढी मुद्धा आएको गढी न्यायिक समितिले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै १० वटा मुद्धा दर्ता भएको छ । साउनमा दर्ता भएका मुद्धा मध्ये ९ वटा जग्गा र अशंका मुद्धा रहेको समितिका कानुनि सल्लाहकार लखनलाल यादवले जानकारी दिनुभयो । यादवका अनुसरा गएको आर्थिक वर्ष २०७४÷०७५ मा ७० वटा मुद्धा आएको ९० प्रतिशत मुद्धा जग्गा सम्बन्धि मुद्धा रहेको छ । गढी न्यायिक समितिमा छिटाहा, सतैरझोरा र औरावनी क्षेत्रबाट बढी मुद्धा आएको न्यायीक समितिका संयोजक राजकुमारी चौधरीले जानकारी दिनुभयो ।
सुनसरीको अरु न्यायीक समितिको तुलनामा बढी मुद्धा गढीमा आउने गरेको चौधरीको भनाई रहेको छ । यहाँ आउने मुद्धामा सबै भन्दा बढी जग्गा सम्बन्धि मुद्धा रहेको सदस्य टुनालाल चौधरीले बताउनुभयो । यहाँ मुद्धा फर्छौट समेत राम्रो रहेकाले मुद्धाको चाप बढेको बताइएको छ । मुद्धामा निष्पक्ष न्याय सम्पादन भएकाले मुद्धा आउने क्रम बढेको संयोजक चौधरीको भनाई छ । गढी न्यायिक समितिमा साउनमा एउटा महिला सम्बन्धी मुद्धा आएको र त्यस विषयमा पक्षहरुलाई बोलाएर मेलमिलापको माध्यमबाट छिनोफानो गर्ने तयारी गरेको छ ।








