सुनसरी/सप्तरीमा दुई प्रकारका फ्लु एकसाथ देखिएपछि छिकेमी जिल्ला सुनसरीमा सर्तकता अपनाउन थालिएको छ ।फ्लु देखापरेको क्षेत्रलाई विपद् ग्रस्त क्षेत्र घोषणा गरिएसँगै सुनसरी समेत जोखिममा पर्न सक्ने भन्दै सर्तकता अपनाउन थालिएको हो ।
सप्तरीसँग सुनसरीको कोशी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको भूभाग जोडिने हुँदा भित्रिन सक्ने महामारी कारण सुनसरीमालाई समेत सम्भावित जोखिम क्षेत्रका रुपमा हेरिएको छ ।भिडभाड, आवतजावत र रुखाखोकी सँगै ज्वरो जस्ता संक्रमणको अवस्थामा रोग फैलिन सक्ने भएकाले सीमावर्ती सुनसरीमा सावधानी अपनाउन थालिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले सम्भावित प्रकोपलाई मध्यनजर गर्दै जिल्लाभर हाइअलर्ट जारी गरेको छ ।मातहतका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई आइपर्न सक्ने विपद्लाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन निर्देशन दिइएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
औषधीको जोहो सहित स्वास्थ्यकर्मीहरुलाई पूर्ण तयारीका साथ ड्युटीमा खटिन निर्देशन दिइएको इनरुवा अस्पतालकी मेसु डाक्टर बिना शाक्यले जानकारी दिनुभयो ।जिल्लामा अहिलेसम्म कतैपनि कुनै किसिमको संक्रमित बिरामी नभेटिएपनि छिमेकी जिल्लाको प्रत्यक्ष प्रभाव पर्न सक्ने भएकाले पूर्व सावधानी अपनाइएको शाक्यको भनाई छ ।
विपद् ग्रस्त घोषित कञ्चनरुप र हनुमाननगर कंकालिन नगरपालिका हुँदै पूर्वतर्फ आवतजावत गर्नेहरु कोही कसैमा संक्रमण भएको खण्डमा रोग सर्न सक्ने भएकाले स्वास्थ्यको बारेमा स्वयं ख्याल राख्न स्वास्थ्यकर्मीहरुले सुझाव समेत दिएका छन् ।सप्तरीतर्फबाट इटहरी र बिराटनगर जस्ता पूर्वी बजारमा आवतजावत गर्ने व्यापारी लगायत सर्वसाधारण बढी चाप हुने हुँदा सप्तरीको विदप्ले सुनसरीलाई प्रभावमा नपार्न भन्न नसकिने स्वास्थ्यका जानकारहरु बताउँछन् ।
रुखाखोकी, ज्वरो आए वा शरिरमा आलश्यता उत्पन्न भए वा असहजता महसुस भएको अवस्थामा नजिकैको स्वास्थ्य संस्थामा स्वास्थ्य चेकजाँच गराउन सर्वसाधारणका नाममा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले अपिल समेत गरेको छ । स्वास्थ्यकर्मीहरुले ताजा खानेकुरा मात्रै खान, यात्रा वा भिडभाडमा हिंडडुल गर्दा मास्क लगाउन र सरसफाईमा ध्यान दिन आम सर्वसाधारणमा आग्रह गरेका छन् ।
सम्भावित जोखिम रहन सक्ने भएपनि हाल सम्म कुनैपनि किसिमको समस्या नदेखिएको बताउनुहुने सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जिल्ला स्वास्थ्य कार्यालयले मातहतका स्वास्थ्य संस्थाहरुमा सर्तकर्ता अपनाउन निर्देशन दिइसकेको बताउनुभयो ।
प्रजिअ उप्रेतीले छिमेकी जिल्लाको प्रभाव पर्न सक्ने तर्फ सुनसरी प्रशासन गम्भिर रहेको बताउनुभयो ।सप्तरीसँग सीमा जोडिएका स्थानबाट सुनसरी भित्रने शंकास्पद बिरामीको हकमा स्वास्थ्य चेकजाँच सहितको प्रवन्ध मिलाउने तयारीमा जुटेको उप्रेतीले जानकारी दिनुभयो ।प्रभावित क्षेत्र र जिल्लामा पर्न सक्ने प्रभावको विषयमा आवश्यक छलफल पश्चात थप योजना बनाएर अघि बढ्ने उप्रेतीको भनाई छ ।









