
इनरुवा/सुनसरीको हरिनगर गाउँपालिका २ मा गोली हानि हत्या गरिएका खुर्शिद आलमको अनत्येष्टी गरिएको छ । आज दिउँसो मुस्लिम धर्म अनुसार भुटाहामा उनको अन्तिम संस्कार गरिएको हो । खुर्शिदको अन्तिम संस्कार ( जनाजा नवाजमा) ठुलो संख्यामा मुस्लिम समूदायको उपस्थित भएका थिए । सामूहिक जनाजा नवाज पश्चात खुर्शिदको धार्मिक विधी अनुसार अनत्येष्टी गरिएको छ ।
आलमको अन्तिम सस्कार आलमको भिनाजु मोलाना नजाम फलाहीले जनाजा नवाज पढेर गर्नु भएको थियो । त्यसअघि खुर्शिदको शवलाई उनको घरमा नेकपाका प्रदेश एक इन्चार्ज भीम आचार्य सहितका नेताले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । अज्ञात समूहले चलाएको गोलिबाट ज्यान गुमाएका खुर्शिदको परिवार सहित मुस्लिम समूदायले शहीद घोषणा सहित क्षतिपूर्ति, हत्यारा पक्राउ लगायतका माग राखेपछि २४ घण्टा भन्दा बढी समय शव उठाइएको थिएन् । सरकारले शहीद घोषणासँगै क्षतिपूर्ति उपलब्ध गराउने र स्थानीयका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि खुर्शिदको शव हिजो बेलुका पोष्टमाटमकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।








