
दशैं अगावै इनरुवा नगरपालिकाभरी सिसी क्यामेरा जडान गरिने भएको छ । इनरुवा नगरपालिकाको २५ लाख बढीको लागतमा जडान हुने क्यामेरा विशेष गरी बजार एरिया र भिडभाड हुने स्थानमा राखिने छ ।
जडान गरिने सिसी क्यामेरा शान्ति सुरक्षा कायम गर्नका साथै अब्यवस्थित बजारलाई नियन्त्रण गर्न महत्वपूर्ण सावित हुने नगर प्रमुख राजन मेहताले बताए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा संवेदनशील क्षेत्रहरुको पहिचान गरी क्यामेरा जडान गरिने मेहताको भनाई छ ।
नगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार बजार एरिया सहित सर्वसाधारणको दैनिक कारोवार हुने स्थान, बढी भिडभाड रहने क्षेत्र, बजारसँग जोडिएका नाका, नगर प्रवेश एरिया, बैंक, बित्तिय संस्थाका साथै विद्यालय आसपास सिसी क्यामेरा जडान गरिने छ ।
पहिलो चरणमा बजार सहित प्रमुख स्थानहरुमा जडान गरिने सिसी क्यामेरा क्रमशः नगरका सबै क्षेत्र समावेश हुने गरी वडास्तर सम्म बिस्तार गरिने इनरुवा नगरपालिकाले जनाएको छ ।








