इनरुवा। छिमेकी मुलुक भारतबाट सर्पले टोकेका विरामीहरु पछिल्लो समयमा सुनसरी सदरमुकाम इनरुवामा रहेको इनरुवा अस्पतालमा उपचारका लागि आउन थालेका छन । भारतको सुपौलबाट सर्पको टोकाईका कारण गम्भीर वनेर वुधवार उपचारका लागि इनरुवा अस्पताल ल्याइएकी ७ वर्षिया बालिका निशाकुमारीको स्वास्थ्य सुधार भएको छ ।
सर्पले टोकेपछि उपचारका लागि भारतमै रहेको प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुर भीमनगरमा उपचारका लागि लगिएकी बालिकालाई त्यहाँ बाट रिफर गरिएपछि इनरुवा अस्पताल ल्याइएको थियो ।
गम्भीर अवस्थामा इनरुवा अस्पताल ल्याइएकी बालिकाको स्वास्थ्य सुधार भएको भन्दै उनका आफन्तहरु हर्सित भएका छन । इनरुवा अस्पतालमा उनको उपचार भई रहेको छ । सर्पले टोकेर उपचारका लागि इनरुवा अस्पताल आउने निशा पहिलो भारतीय नागरिक भने नभएको अस्पताल स्रोतले जनाएको छ ।
यस अघि पनि विषालु सर्पले टोकेर उपचारका लागि आएका तीन जना भारतीय ठिक भएपछि सर्पले टोकेको उपचारका लागि भारतीयहरु आउने गरेको अस्पतालको आकस्मीक कक्षमा कार्यरत स्वास्थ्यकर्मी गुणानन्द झा वताउछन ।
गत जेष्ठ देखि अहिले सम्म इनरुवा अस्पतालमा सर्पले टोकेर उपचारका लागि आएका १सय ४५ जना मध्ये १सय ३२जनालाई ननविषालु र २० जनालाई विषालु सर्पको टोकेको समेत उनले जानकारी दिए । त्यस मध्ये दुई जनाको ल्याउदा ल्याउदै बाटामा मृत्यु भएको ,तीन जनामा श्वासप्रश्वासमा समस्या आएपछि धरान पठाइएको र १५ जना उपचार पछि ठिक भएर फर्किएको स्वास्थ्यकर्मी झाले जनाए ।
तस्बिर : सरोज बरालको वालबाट









