इनरुवा। सुनसरीको इनरुवाबाट पक्राउ परेका सिके राउत समर्थक मध्येका ७ जना उपर प्रहरीले विशेष अनुसन्धान थालेको छ । दर्जन बढीको संख्यामा रहेका सिके राउत समर्थकको समूहले बुधबार दिउँसो जिल्ला प्रहरी र प्रशासन कार्यालय अगाडी पर्चा पमप्लेट सहित नाराबाजी गरेका थिए ।
प्रर्दशनमा उत्रिएका दुई दर्जन बढीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये ७ जना शंकास्पद देखिएपछि उनीहरु उपर थप अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ । बाँकीको हकमा प्रारम्भिक सोधपुछ र अनुसन्धानको क्रम जारी रहेकाले संगल्नता पुष्टि नभएको अवस्थामा रिहा हुन सक्ने प्रहरीको भनाई छ ।
सप्तरीबाट आएको समूहले भारदह युवा क्लबको नामबाट नाराबाजी सहित इनरुवामा प्रर्दशन गरेको थियो । संविधान दिवसका दिन संविधानको विरोधमा जुलुस निकालेको भन्दै प्रहरीले सुनसरीबाट ४ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको म्याद थपको समयमा सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता बताउने समूहले उनीहरुको रिहाईको माग गर्दै प्रर्दशन गरेको थियो ।









