
इनरुवा नगरपालिकाका मेयर राजन मेहताले पुर्व प्रहरी संगठन इकाई कार्य समिति इनरुवाकालागि भवन बनाइदिने बताएका छन् ।

नगरपालिकामा आयोजित दशैं शुभकामना आदानप्रदान कार्यक्रममा नगर प्रमुख मेहताले संगठनकालागि भवन बनाइदिने प्रतिवद्धता जनाएका हुन् । मेहताले आफ्नो कार्यकालभित्रमा भवन निर्माण कार्य सम्पन्न हुने बताएका हुन् ।

नेपाल पूर्व प्रहरी संगठन इकाई कार्य समिति इनरुवाको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मेहताले स्थानीय सरकार नगर बिकास लगायतका समग्र क्षेत्रमा कटिबद्ध रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रहरी नायब महानिरीक्षक तथा पूर्व प्रहरी संगठन प्रदेश १का उप संयोजक भक्तिनाथ माझीले बिगतको भोगाई र सिकाईलाई वर्तमानमा अङगालेर समाज सुधार सहितको समुन्न्त राष्ट्र निर्माणमा लाग्न पूर्व प्रहरीहरु समक्ष आग्रह गरे ।

कार्यक्रममा पूर्व प्रहरी कर्मचारी समेत रहनुभएका इनरुवा नगरपालिकाका प्रमुख राजन मेहतालाई संगठनको आजिवन सदस्यको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । तत्कालिन समयमा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक रहेका मेहता जागिर छाडी राजनीतिमा होमिएका थिए ।








