नेपालीहरुको दोस्रो ठूलो चाड भाइटीका हो । तिहारको अन्तिम अर्थात पाँचौ दिन भाइटीका मनाइन्छ । कार्तिक शुक्ल द्धितिया तिथीमा भाइटीका मनाइन्छ । भाइटीकालाई यम द्धितिया पनि भनिन्छ । यस पर्वलाई विधि पूर्वक मनाउँदा मृत्यु समेत नाश हुन्छ भन्ने विश्वास छ । त्यसैले भाइटीकालाई मृत्युनाशक भन्ने पनि प्रचलन छ ।
यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
यो वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५२ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मंगलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुृरेको जनाएको छ। समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।
‘यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ,’ उनले भने।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ। यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ।








