इनरुवा । सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले दशै तिहार अहिलेसम्मकै शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएका छन् । आइतबार सुनसरीको कोशी गाउँपालीका ८ स्थित भाण्टावारीमा जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा आयोजित नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै एसपी अधिकारीले दशै तिहारमा शान्ति सुरक्षा मजबुत बनाउन नेपाल प्रहरी सफल भएको बताएका हुन ।
शान्तिपूर्ण वातावरणमा दशै तिहारमा सुरक्षा प्रदान गर्न र अप्रिय घटना हुनबाट जोगाउन समयमै सूचना दिएर सहयोग गर्ने सर्वसाधारणका कारण नेपाल प्रहरी चाडपर्वको बेला सुनसरीमा दशै तिहार अहिलेसम्मकै शान्तिपूर्ण माहोलमा सम्पन्न गराउन सफल भएको एसपी अधिकारी भनाइ थियो ।
चाडपर्वमा पटाका पड्काउने भन्दा पैसा समाजसेवा वा सहि काममा लगाउन उनको आग्रह थियो । शान्ति सुरक्षाको सवालमा प्रहरीले कसैसँग सम्झौता गर्ने कुरा नभएकोले पीडितले न्याय र पीडकले सजाय पाउने उनले बताए । नागरिक सुनवाइ कार्यक्रममा सर्वसाधारणको जिज्ञासा्को जवाफ दिदै एसपी अधिकारीले विगतका चाडपर्वको अवधिको तुलनामा यसवर्ष निकै कम मुद्दा दर्ता भएको बताए ।
एसपी अधिकारीका अनुसार आर्थिक २०७४/०७४ मा जिल्ला प्रहरी कार्यालय सुनसरीमा २ सय ५५ मुद्दा दर्ता भएकोमा यसवर्ष ९० वटा मात्र मुद्दा दर्ता भएका छन् । प्रहरी मेरो साथी भन्ने नारा वास्तविक रूपमा कार्यान्वयनमा आएको कार्यक्रमका सहभागीहरुले बताएका छन् । विगतको तुलनामा तस्करी नियन्त्रणमा आएको बताउदै सहभागी मिन्तुल मियाले सडकमा छाडा चौपायाको बिगबिगी रोक्न आग्रह गरे ।
सडकमा छाडा छाडिएका चौपायाका कारण दुर्घटना समेत भएको बताउदै मियाले यसतर्फ प्रहरीलाई ध्यानाकषिर्त गराए । सोही कार्यक्रममा बोल्दै कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले शान्ति सुरक्षाको सवालमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा बोल्दै अन्सारीले भने प्रहरीले मात्रै चाहेर हुँदैन हामीले पनि प्रहरीलाई सहयोग गर्नुपर्छ ।
उक्त कार्यक्रममा कोशी गाउँपालीका वार्ड नम्बर ८ का अध्यक्ष बिन्देश्वर प्रसाद यादव,सरजुग सरदार,भाण्टावारीका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर भण्डारी,सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक अवधलाल साह सोनार,तारादेवी पौडेल,रवीन्द्र प्रसाद साह सहितको उपस्थिति रहेको थियो ।











